एक्लै हिँड्ने महिला र वृद्धाको सिक्री लुट्ने गिरोहको पर्दाफास, नाइकेमाथि प्रहरीको गोली

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ–१३ चुनिखेल गाम्चामा गएराति प्रहरीको गोली लागेर लुटपाट तथा चोरीका घटनामा संलग्न रहेको आरोपित एक व्यक्ति पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार इन्स्पेक्टरको नेतृत्वमा खटिएको टोलीले राति करिब १०ः२५ बजे जम्काभेट हुँदा ३४ वर्षीय कर्मा तामाङलाई पक्राउ गर्ने क्रममा गोली चलाएको हो। प्रहरीका अनुसार तामाङले खुकुरी देखाएर आक्रमणको प्रयास गरेपछि दुई राउण्ड हवाई फायर गरिएको थियो। त्यसपछि पनि उनी भाग्ने प्रयास गरेपछि नियन्त्रणमा लिन खुट्टामा गोली प्रहार गरिएको प्रहरीले जनाएको छ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ घर भएका तामाङ सवारी चालक पेसामा आबद्ध रहे पनि पछिल्लो समय लुटपाटका घटनामा संलग्न रहेको प्रहरीको दाबी छ। प्रहरीका अनुसार उनी २०७९ यता १० पटक पक्राउ परिसकेका छन्।
प्रहरी अनुसन्धानअनुसार तामाङ नेतृत्वको समूहमा प्रतिमान गोले, पासाङ घिसिङ र आले गुरुङ संलग्न छन्। उनीहरूले सडकमा एक्लै हिँडिरहेका व्यक्तिसँग बाटो सोध्ने बहानामा नजिकिएर लछारपछार गर्दै सुनका सिक्री र नगद लुट्ने गरेको खुलेको प्रहरीले जनाएको छ।
लुटिएका सुनका गहना खरिद गरेको आरोपमा बनेपामा सुन पसल सञ्चालन गर्दै आएका ३६ वर्षीय मनोज तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार उक्त समूह २०८३ वैशाखयता पाँच वटा लुटपाटका घटनामा संलग्न देखिएको छ। उनीहरूले काभ्रेको बनेपा र काठमाडौंका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा लुटपाट गर्दै आएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।
अनुसन्धानका क्रममा यस वर्ष असार १३ गते काठमाडौंको शान्तिनगरमा दुई वटा, असार १५ गते नरेफाँट र बनेपामा तथा साउन ७ गते धापासीमा सुनको सिक्री लुटिएको घटनामा पनि यही समूहको संलग्नता देखिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार समूहले विशेषगरी एक्लै हिँडिरहेका महिला तथा वृद्धवृद्धालाई निशाना बनाउने गरेको थियो। प्रतिमान गोलेले मोटरसाइकल चालकको भूमिका निर्वाह गर्ने, विवाद वा प्रतिरोध भएमा आले गुरुङ बल प्रयोग गर्न घटनास्थल आसपास तयारी अवस्थामा बस्ने र कर्मा तामाङले समग्र समूहको नेतृत्व गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।











