९० दिनदेखि बेपत्ता जियोलोजिस्टलाई मन्त्रालयको अन्तिम चेतावनी, १५ दिनभित्र स्पष्टीकरण माग

१८ श्रावण २०८३, सोमबार १४:१२

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खानी तथा भूगर्भ विभागमा कार्यरत जियोलोजिस्ट गौतम प्रसाद खनालसँग १५ दिनभित्र स्पष्टीकरण (सफाइ) पेस गर्न सार्वजनिक सूचना जारी गरेको छ। लामो समयदेखि बिना सूचना कार्यालयमा अनुपस्थित रहेपछि मन्त्रालयले उनीविरुद्ध विभागीय कारबाही प्रक्रिया अघि बढाएको हो।

नेपाल इन्जिनियरिङ सेवा, जियोलोजी समूह, जनरल जियोलोजी उपसमूहका राजपत्राङ्कित तृतीय श्रेणी (प्राविधिक) पदमा कार्यरत जियोलोजिस्ट खनाल (कर्मचारी संकेत नं. २०१२९४) २०८२ साउन ९ गतेदेखि हालसम्म बिना कुनै सूचना लगातार कार्यालयमा अनुपस्थित रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयको साउन १४ गतेको सचिवस्तरीय निर्णयअनुसार साउन १६ गते सार्वजनिक सूचना प्रकाशित गर्दै निजामती सेवा ऐन, २०४९ को दफा ६६ बमोजिम १५ दिनको म्याद दिइएको हो। सूचनामा खनाललाई लगातार ९० दिनभन्दा बढी अनुपस्थित हुनुपर्नाको कारण स्पष्ट खुलाइ प्रमाणसहित बाटोको म्यादबाहेक १५ दिनभित्र मन्त्रालयमा स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ।

मन्त्रालयले तोकिएको अवधिभित्र चित्तबुझ्दो स्पष्टीकरण पेस नगरे निजामती सेवा ऐन, २०४९ को दफा ६१ उपदफा (१) को खण्ड (छ) बमोजिम कसुर कायम हुने र सोही ऐनको दफा ५९ को खण्ड (ख) को उपखण्ड (१) अनुसार भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने कारबाही गरिने चेतावनी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*