बजारमा ग्यासको कृत्रिम अभाव, कालाबजारी मौलायो: उपभोक्ता मञ्च

काठमाडौं । उपभोक्ता मञ्च नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको दाबी गर्दै त्यसमा संलग्नमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेको छ।
सोमबार मञ्चका प्रवक्ता उज्वलराज गौतमद्वारा जारी विज्ञप्तिमा भारतबाट ग्यास आयात, ढुवानी र आपूर्ति सहज रूपमा भइरहे पनि बजारमा ग्यासको अभाव देखिनु र सर्वसाधारण घण्टौँ लाइनमा बस्न बाध्य हुनु कृत्रिम अभाव र कालोबजारीको संकेत भएको उल्लेख गरिएको छ।
मञ्चले कृत्रिम अभाव सिर्जना गर्ने, ग्यास सञ्चितीकरण गर्ने तथा बढी मूल्यमा बिक्री गर्ने बिचौलिया र व्यापारीमाथि कडा कारबाही गरी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ।
विज्ञप्तिमा चाडपर्व नजिकिँदै जाँदा तथा विपद्का बेला बजारमा चरम महँगी र उपभोग्य वस्तुको अभाव सिर्जना हुनु तथा नियमनकारी सरकारी निकायहरू प्रभावकारी रूपमा सक्रिय नदेखिनु दुःखद र गैरजिम्मेवारपूर्ण भएको उल्लेख छ।
मञ्चका अनुसार केही समययता चामल, दाल, तेल, चिनी, तरकारी, फलफूल, खसी तथा कुखुराको मासु र अण्डालगायत दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढाइएको छ। व्यवसायीहरूले वर्षात् र ढुवानीलाई मूल्यवृद्धिको कारण देखाए पनि त्यसको ठोस र औचित्यपूर्ण आधार नरहेको मञ्चको भनाइ छ।
मञ्चले बजारमा भइरहेको अस्वाभाविक मूल्यवृद्धि, नाफाखोरी र कालोबजारी नियन्त्रणका लागि तत्काल संयुक्त तथा प्रभावकारी अनुगमन टोली परिचालन गर्न माग गरेको छ। साथै कुनै ठोस आधारबिना बढाइएको चामल, दाल, तेल, चिनी, तरकारीलगायत खाद्य वस्तुको मूल्य तत्काल फिर्ता गराउन पनि सरकारसँग आग्रह गरेको छ।











