सुस्त पुँजी बजारः हैरानीमा शेयर लगानीकर्ता, किन सरकारका प्रयास असफल ?

काठमाडौं । लगातार चार कारोबार दिनसम्म ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक गत शुक्रबार सामान्य सुधार देखिए पनि त्यो उत्साह एक दिनमै सेलाएको छ । साताको पहिलो कारोबार दिन सोमबार बजार पुनः घटेसँगै लगानीकर्तामा निराशा बनेका छन् ।
पछिल्ला दिनहरूमा नेप्से परिसूचकसँगै दैनिक कारोबार रकम पनि निरन्तर खुम्चिँदै गएको छ । बजारमा नयाँ लगानीकर्ताको आकर्षण घट्दै गएको र सक्रिय कारोबार कमजोर बन्दै गएको हो । बजारले स्पष्ट दिशा लिन नसक्दा अधिकांश लगानीकर्ता नयाँ खरिदमा प्रवेश गर्नुको सट्टा ’पर्ख र हेर’को रणनीतिमा बसेका छन् ।
सरकारले पूँजीबजार सुधारलाई प्राथमिकतामा राखेको अभिव्यक्ति पटक–पटक दिँदै आए पनि त्यसको प्रभाव व्यवहारमा देखिन नसकेको भन्दै लगानीकर्ताहरू असन्तुष्ट देखिएका छन् । अर्थमन्त्री स्वर्णिम वाग्लेले पूँजीबजारलाई अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा अघि बढाउने प्रतिबद्धता जनाउँदै आएका छन् भने काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहसँगको भेटपछि बजारमा केही समय सकारात्मक मनोविज्ञान बनेको थियो । तर त्यो सकारात्मक संकेत दीर्घकालीन हुन नसक्दा बजार फेरि घट्दो लयमा फर्किएको छ। लगानीकर्ताहरूले सरकारका घोषणा र व्यवहारबीचको अन्तरले बजारमा विश्वासको वातावरण अझै बन्न नसकेको टिप्पणी गरेका छन् ।
विश्लेषकहरूले तत्काल बजारमा ठूलो सुधार हुने आधार कमजोर रहेको आकलन गरेका छन्। उनीहरूका अनुसार आगामी केही कारोबार दिनमा पनि नेप्सेमा उतारचढाव कायम रहने र बिक्री दबाब अझै देखिन सक्ने सम्भावना छ। पूँजीबजारमा लगानीकर्ताको विश्वास पुनः स्थापित गर्न स्पष्ट नीतिगत सुधार, वित्तीय प्रणालीमा पर्याप्त तरलता, संस्थागत लगानीकर्ताको सक्रिय सहभागिता तथा सरकारबाट कार्यान्वयनमुखी निर्णय आवश्यक रहेको उनीहरूको भनाइ छ। यस्ता आधारभूत सुधार बिना बजारले दिगो उकालो समात्न कठिन हुने निष्कर्ष विश्लेषकहरूले निकालेका छन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.२० अकंले घटेर २६८४.३३ बिन्दुमा कायम भएको छ । आज ३४९ कम्पनीको १ करोड १४ लाख ३ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएको हो ।
यसदिन ५ उपसूचक राताम्य भएका छन् । अन्य सूचकमा पनि सामान्य सुधार देखिएको हो । आज व्यापार समूहको सर्वाधिक ०.९३ प्रतिशतले घटेको छ ।

सोमबार १२६ कम्पनीको शेयर मूल्य बढेको छ भने १४१ कम्पनीको घटेको छ । ७ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।











