१२ हजार घुस लिएको आरोपमा वन कार्यालय प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको सव–डिभिजन वन कार्यालय, बन्दीपुरका कार्यालय प्रमुख राम केवल राय यादवविरुद्ध १२ हजार रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले सोमबार दायर गरेको आरोपपत्रअनुसार काष्ठ उद्योगका लागि ल्याइएको काठको शिल खोलेको मुचुल्का तयार गरी आवश्यक कागजात फिर्ता गर्ने क्रममा रायले सेवाग्राहीलाई विभिन्न बहानामा दुःख–हैरानी दिँदै घुस मागेका थिए।
आयोगका अनुसार उनले काम गरिदिने भन्दै सेवाग्राहीसँग १२ हजार रुपैयाँ घुस मागेर लिएका थिए। उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट १२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका क्रममा रायले आफ्नो सार्वजनिक पदको दुरुपयोग गर्दै घुस लिएको पुष्टि भएको आयोगको दाबी छ।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो १२ हजार रुपैयाँ कायम गरी सोही बराबर जरिवाना तथा कैद सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ।











