अर्थमन्त्री वाग्लेले बैंकका सीईओसँग भने ‘लगानी र उत्पादन बढाउन अब निर्णयबाट पछि हट्दैनौँ’

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई सरकारसँग मिलेर आर्थिक रूपान्तरणको साझा अभियानमा सक्रिय हुन आह्वान गरेका छन्। अर्थ मन्त्रालयमा मंगलबार आयोजित वाणिज्य बैंकका सीईओहरूसँगको छलफलमा अर्थमन्त्री वाग्लेले सरकारले निजी क्षेत्रसँगको घनिभूत संवादलाई निरन्तरता दिँदै अब वित्तीय प्रणालीको नेतृत्व गरिरहेका बैंकहरूसँग प्रत्यक्ष छलफल थालेको बताए।
उनले भने “आजको बैठक सामान्य औपचारिक छलफल नभई यो नेपालको अर्थतन्त्रलाई पुनः गति दिने साझा अभियानको अर्को चरण हो। निजी उद्योगीहरूसँगको घनिभूत संवादपछि आज हामी वित्तीय प्रणालीको नेतृत्व गरिरहेका तपाईँहरूसँग बसेका छौँ। किनकि उत्पादन, लगानी, बचत, वित्तीय विश्वास र आर्थिक गतिविधिको केन्द्रमा बैंकिङ प्रणाली नै छ,” ।
उनले वाणिज्य बैंकहरू अर्थतन्त्रका सबैभन्दा महत्वपूर्ण संगम भएको उल्लेख गर्दै बचतकर्ता, उद्यमी, किसान, उद्योगी, लगानीकर्ता तथा नयाँ व्यवसाय सुरु गर्न चाहने युवासमेत बैंकिङ प्रणालीसँग प्रत्यक्ष जोडिने भएकाले अर्थतन्त्रको वास्तविक मनोविज्ञान, बजारको आत्मविश्वास, लगानीकर्ताको सोच र भविष्यप्रतिको अपेक्षा सबैभन्दा स्पष्ट रूपमा बैंकहरूले नै महसुस गर्ने बताए। “वास्तवमा, वाणिज्य बैंकहरू अर्थतन्त्रका सबैभन्दा महत्वपूर्ण संगम हुन्। यहाँ बचतकर्ता पनि आउँछन्, उद्यमी पनि आउँछन्, किसान पनि आउँछन्, उद्योगी पनि आउँछन्, लगानीकर्ता पनि आउँछन् र नयाँ व्यवसाय सुरु गर्न चाहने युवा पनि आउँछन्। त्यसैले अर्थतन्त्रको वास्तविक मनोविज्ञान, बजारको आत्मविश्वास, लगानीकर्ताको सोच र भविष्यप्रतिको अपेक्षा सबैभन्दा स्पष्ट रूपमा यहाँहरूले नै महसुस गर्नुहुन्छ,” उनले भने।
अर्थमन्त्री वाग्लेले बजेटमार्फत सरकारले नेपालको आर्थिक रूपान्तरणका लागि स्पष्ट दिशा तय गरिसकेको र अब सरकारको ध्यान कार्यान्वयनमा केन्द्रित रहेको बताए। “बजेटमार्फत हामीले नेपालको आर्थिक रूपान्तरणका लागि एउटा स्पष्ट दिशा तय गरेका छौँ। अब हाम्रो ध्यान कार्यान्वयनमा छ। त्यसैले आज म बजेट कार्यान्वयनसँगै अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न यहाँहरूको अनुभव र सुझाव सुन्न आएको छु,” उनले भने।
उनले सरकार र बैंकिङ क्षेत्रको साझा लक्ष्य अर्थतन्त्रलाई पुनः गतिशील बनाउने, लगानी बढाउने, उत्पादन विस्तार गर्ने, रोजगारी सिर्जना गर्ने र निजी क्षेत्रको आत्मविश्वास पुनःस्थापित गर्ने रहेको बताए। “हामी सबैको साझा लक्ष्य एउटै छ नेपालको अर्थतन्त्रलाई पुनः गतिशील बनाउने। लगानी बढाउने। उत्पादन विस्तार गर्ने। रोजगारी सिर्जना गर्ने। र निजी क्षेत्रको आत्मविश्वास पुनःस्थापित गर्ने,” उनले भने।
सरकारले नियामकीय, कानुनी तथा संस्थागत सुधारलाई अगाडि बढाइरहेको उल्लेख गर्दै वाग्लेले ती सुधार पर्याप्त छन् कि छैनन् भन्ने विषयमा बैंकिङ क्षेत्रबाट स्पष्ट सुझाव चाहेको बताए। “सरकारका तर्फबाट हामी नियामकीय, कानुनी र संस्थागत सुधारको प्रक्रिया अगाडि बढाइरहेका छौँ। तर एउटा प्रश्न हामीले आफैँलाई सोध्नुपर्छ— के यी सुधारहरू पर्याप्त छन्? अझ के गर्नुपर्छ? आज म विशेष गरी यही विषयमा खुला र स्पष्ट छलफल चाहन्छु,” उनले भने।
छलफलका क्रममा उनले अर्थतन्त्रको वर्तमान मनोविज्ञान, निजी क्षेत्र किन लगानी विस्तार गर्न हिच्किचाइरहेको छ, ऐतिहासिक रूपमा न्यून ब्याजदर हुँदा पनि कर्जाको माग किन बढ्न सकेको छैन, बैंकिङ प्रणालीमा रहेको अधिक तरलता उत्पादन र लगानीमा किन रूपान्तरण हुन नसकेको हो भन्ने विषयमा गम्भीर समीक्षा आवश्यक रहेको बताए। साथै यसको समाधान मौद्रिक नीति, वित्तीय नीति वा निजी क्षेत्रको आत्मविश्वासमध्ये कहाँ छ भन्नेबारे पनि धारणा मागे।
अर्थमन्त्री वाग्लेले उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह बढाउन आवश्यक संरचनागत सुधार, मौद्रिक नीति, नियमन र सुपरिवेक्षणमा अपनाउनुपर्ने नयाँ दृष्टिकोण तथा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र बैंकिङ क्षेत्रबीचको समन्वयलाई अझ प्रभावकारी बनाउने उपायबारे पनि सीईओहरूसँग स्पष्ट र निष्कपट सुझाव मागे। “यी विषयमा म यहाँहरूको स्पष्ट र निष्कपट धारणा चाहन्छु,” उनले भने।
उनले बैठक समस्या पहिचानमा मात्र सीमित नरहने स्पष्ट पार्दै समाधान, समयसीमा र जिम्मेवारीसहित कार्यान्वयनमा जाने प्रतिबद्धता जनाए। “आजको छलफल केवल समस्या पहिचानमा सीमित रहने छैन। हामी समाधान, समयसीमा र जिम्मेवारीसहित अगाडि बढ्न चाहन्छौँ। जहाँ कानुनी सुधार आवश्यक छ, त्यहाँ कानुन सुधार्नेछौँ। जहाँ प्रक्रियागत समस्या छ, त्यहाँ प्रक्रिया बदल्नेछौँ। जहाँ संस्थागत समन्वय आवश्यक छ, त्यहाँ समन्वय गर्नेछौँ। जहाँ सरकारबाट निर्णय आवश्यक छ, त्यहाँ निर्णय लिन हामी पछि हट्ने छैनौँ,” उनले भने।
सरकारले प्रतिक्रियात्मक नभई आत्मविश्वासले भरिएको, निर्णयक्षम र भविष्यप्रति आशावादी अर्थतन्त्र निर्माण गर्न चाहेको उल्लेख गर्दै उनले यो बैठकलाई बैंकिङ क्षेत्रसँगको नियमित संवादभन्दा पनि नेपालको वित्तीय प्रणालीलाई आर्थिक रूपान्तरणको नेतृत्वदायी साझेदार बनाउने कार्यशालाका रूपमा लिन आग्रह गरे। “हामी अर्थतन्त्रलाई प्रतिक्रियात्मक ढङ्गले होइन, आत्मविश्वासले भरिएको, निर्णयक्षम र भविष्यप्रति आशावादी अर्थतन्त्र बनाउन चाहन्छौँ। त्यसैले आजको बैठकलाई बैंकिङ क्षेत्रसँगको आवधिक संवादका रूपमा होइन, नेपालको वित्तीय प्रणालीलाई आर्थिक रूपान्तरणको नेतृत्वदायी साझेदार बनाउने कार्यशालाका रूपमा अघि बढाऔँ,” उनले भने।
वाग्लेले सरकार र बैंकिङ क्षेत्रबीचको सम्बन्ध नियामक र नियमनमा सीमित नभई साझा राष्ट्रिय जिम्मेवारीको सम्बन्ध भएको बताए। “म एउटा कुरा स्पष्ट भन्न चाहन्छु, सरकार र बैंकिङ क्षेत्रबीचको सम्बन्ध नियामक र नियमित निकायको मात्र होइन, साझा राष्ट्रिय जिम्मेवारीको सम्बन्ध हो। आर्थिक वृद्धि, लगानी विस्तार, रोजगारी सिर्जना र वित्तीय स्थायित्व हाम्रो साझा उद्देश्य हो। त्यसैले आजका सुझावहरू केवल छलफलमा सीमित रहने छैनन्, तिनलाई कार्यान्वयनको स्पष्ट रोडम्यापमा रूपान्तरण गर्ने हाम्रो प्रतिबद्धता छ,” उनले भने।











