नबिल र ग्लोबल आइएमई बैंकलाई दाजेर हेर्दाः कुन सूचकमा को अब्बल ?

काठमाडौं । नेपालको बैंकिङ क्षेत्रमा अग्रणी मानिने नबिल बैंक र ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक विवरणले दुवै बैंकले गत आर्थिक वर्षमा नाफा, सञ्चालन क्षमता, निक्षेप, कर्जा, सम्पत्ति तथा लाभांश क्षमतामा उल्लेखनीय सुधार गरेको देखाएको हो ।
दुवै बैंकले कर्जा नोक्सानी व्यवस्थामा उल्लेख्य कमी ल्याएका कारण सञ्चालन नाफा र खुद नाफा उल्लेखनीय रूपमा बढाउन सफल भएका छन् । साथै खराब कर्जा नियन्त्रण, वितरणयोग्य नाफा वृद्धि र प्रतिशेयर आम्दानीमा समेत सुधार देखिएको छ । लाभांश क्षमता समेत बैंकहरुले बढाएको देखिएको छ ।
गत आर्थिक वर्षको भदौमा भएको जेनजी आन्दोलन र सो पश्चातको अस्थिरताकाबीच पनि दुबैं बैंकले वित्तीय रुपमा उल्लेख्य सुधार गरेको देखिन्छ ।
नाफामा नबिल अगाडि, ग्लोबल पछ्याउँदै
आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अवधिमा नबिल बैंकको खुद नाफा ३३.५० प्रतिशतले बढेर ७ अर्ब ९० करोड ५७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले ५ अर्ब ९२ करोड २१ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यता ग्लोबल आइएमई बैंकको खुद नाफा २२.६७ प्रतिशतले बढेर ६ अर्ब २२ करोड ७१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकको खुद नाफा ५ अर्ब ७ करोड ६३ लाख रुपैयाँ थियो ।
नबिल खुद नाफासँगै नाफा वृद्धिदरमा पनि ग्लोबललाई पछाडि पारेको छ ।
खुद ब्याज आम्दानीमा नबिलको सुधार, ग्लोबलमा सामान्य गिरावट
गत आर्थिक वर्षमा नबिल बैंकको खुद ब्याज आम्दानी ४.१८ प्रतिशतले बढेर १७ अर्ब ९० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यो १६ अर्ब ३२ करोड ७२ लाख रुपैयाँ थियो ।
तर ग्लोबल आइएमई बैंकको खुद ब्याज आम्दानी २.८६ प्रतिशतले घटेर १६ अर्ब २० करोड ३० लाख रुपैयाँ मा सीमित भएको छ । अघिल्लो वर्ष बैंकले १६ अर्ब ६७ करोड ९९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
यद्यपि ग्लोबलको नेट फि तथा कमिसन आम्दानी १३.०१ प्रतिशतले बढेर ३ अर्ब ६४ करोड ६ लाख रुपैयाँ पुगेको छ भने नबिलको उक्त आम्दानी ३.२७ प्रतिशतले बढेर ३ अर्ब ५४ करोड ११ लाख रुपैयाँ पुगेको छ ।
सञ्चालन आम्दानी र सञ्चालन नाफामा दुवै बैंकको सुधार
नबिल बैंकको कुल सञ्चालन आम्दानी ६.३२ प्रतिशतले बढेर २२ अर्ब ३३ करोड ४४ लाख रुपैयाँ पुगेको छ भने ग्लोबल आइएमईको २.६१ प्रतिशतले बढेर २१ अर्ब ८० करोड ४० लाख रुपैयाँ पुगेको छ ।
सञ्चालन नाफातर्फ नबिलको २५.२२ प्रतिशत वृद्धि हुँदै ११ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ पुगेको छ । ग्लोबल आइएमईको सञ्चालन नाफा २०.०३ प्रतिशतले बढेर ८ अर्ब ६८ करोड २१ लाख रुपैयाँ पुगेको हो ।

इम्पेरमेन्ट चार्ज घट्दा नाफामा ठूलो टेवा
दुवै बैंकले कर्जा नोक्सानी व्यवस्था (इम्पेरमेन्ट चार्ज) उल्लेख्य घटाएका छन् । नबिलको इम्पेरमेन्ट चार्ज ४ अर्ब २० करोड १४ लाख रुपैयाँबाट घटेर २ अर्ब ६७ करोड ७२ लाख रुपैयाँ मा झरेको छ ।
ग्लोबल आइएमईको इम्पेरमेन्ट चार्ज ५ अर्ब ९७ करोड ६६ लाख रुपैयाँबाट घटेर ४ अर्ब ७८ करोड ८४ लाख रुपैयाँ मा सीमित भएको छ।
लाभांश क्षमता : वितरणयोग्य नाफामा नबिल बलियो
वितरणयोग्य नाफा नबिलको ५ अर्ब १६ करोड ९१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यो ३ अर्ब ८५ करोड ५५ लाख रुपैयाँ थियो । वितरणयोग्य प्रतिशेयर आम्दानी १९ रुपैयाँ १० पैसा पुगेको छ।
ग्लोबल आइएमईको कुल वितरणयोग्य नाफा ४ अर्ब ५८ करोड १० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यो ४ अर्ब ५ करोड ४९ लाख रुपैयाँ थियो । वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ २ पैसा कायम भएको छ ।
लाभांश वितरण क्षमतामा नबिलको अवस्था थप बलियो देखिन्छ ।
प्रतिशेयर आम्दानी र नेटवर्थमा पनि नबिल अगाडि
गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण हेर्दा नबिल बैंकको प्रतिशेयर आम्दानी २८ रुपैयाँ ३६ पैसा पुगेको छ । अघिल्लो वर्ष सोहि अवधिमा बैंकको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ८९ पैसा रहेको थियो ।
ग्लोबल आइएमईको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ३४ पैसा पुगेको छ । अघिल्लो वर्ष कम्पनीको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ३२ पैसा थियो ।
प्रतिशेयर नेटवर्थ पनि नबिलको २४७ रुपैयाँ २८ पैसा पुगेको छ भने ग्लोबल आइएमईको १८३ रुपैयाँ १४ पैसा रहेको छ ।
सम्पत्ति, निक्षेप र कर्जामा ग्लोबलको अग्रता
आकारका हिसाबले भने ग्लोबल आइएमई बैंक अझै सबैभन्दा ठूलो वाणिज्य बैंकमध्ये एक बनेको छ । ग्लोबल आइएमईको कुल सम्पत्ति ८ खर्ब २० अर्ब ७७ करोड रुपैयाँ पुगेको छ भने नबिलको ७ खर्ब ३४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ ।
ग्राहक निक्षेपतर्फ ग्लोबल आइएमईको निक्षेप २१.५३ प्रतिशतले बढेर ६ खर्ब ६९ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । नबिलको निक्षेप १२.९५ प्रतिशतले बढेर ५ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ ।
कर्जा लगानीतर्फ भने नबिल ४ खर्ब ६० अर्ब ३२ करोड रुपैयाँ छ भने ग्लोबल आइएमईको ४ खर्ब ३९ अर्ब ३५ करोड रुपैयाँ रहेको हो ।
पूँजी, जगेडा र इक्विटी
नबिल बैंकको चुक्ता पूँजी ३२ अर्ब ५ करोड ७० लाख रुपैयाँ पुगेको छ । बैंकको जगेडा कोष ३४ अर्ब ६८ करोड ४ लाख रुपैयाँ तथा रिजर्भ एन्ड सरप्लस ३९ अर्ब ८५ करोड ९६ लाख रुपैयाँ पुगेको छ ।
ग्लोबल आइएमईको चुक्ता पूँजी ३८ अर्ब ११ करोड ५९ लाख रुपैयाँ रहेको छ । बैंकको जगेडा कोष २७ अर्ब १० करोड ९३ लाख रुपैयाँ तथा रिजर्भ एन्ड सरप्लस ३१ अर्ब ६९ करोड ४१ लाख रुपैयाँ पुगेको छ ।
नोटः माथि उल्लेखित समाचार दुई बैंकबीचको तुलनात्मक विश्लेषण मात्रै हो । कारोबारको लागि सिफारिस गरेको होइन











