समस्याग्रस्त शिव शिखर सहकारीका ४२ बचतकर्तालाई रकम फिर्ता

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था र पशुपति बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्तालाई बचत रकम फिर्ता गरेको छ।
समितिका अनुसार शिव शिखर सहकारीका १४ जना र पशुपति सहकारीका २८ जना बचतकर्ताले पहिलो चरणमा आफ्नो बचत रकम फिर्ता पाएका हुन्।
सरकारले समस्याग्रस्त सहकारीबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमकै आधारमा बचतकर्तालाई रकम फिर्ता गरिएको जनाएको छ। पहिलो चरणमा न्यून बचत रकम भएका बचतकर्तालाई प्राथमिकताका साथ भुक्तानी गरिएको समितिले स्पष्ट पारेको छ।
समितिका अनुसार आगामी चरणमा बचत रकमका आधारमा बचतकर्ताको वर्गीकरण गर्दै क्रमशः रकम फिर्ता गरिनेछ।
समितिले समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्तालाई प्रचलित कानुनी व्यवस्थाअनुसार निरन्तर बचत फिर्ता गर्ने कार्य जारी रहेको जनाएको छ।











