लुम्बिनी विकास बैंकको नाफासँगै वितरणयोग्य मुनाफामा उछाल, अधिकांश सूचकमा उच्च सुधार

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले गत आवको अन्तिम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार गत आवमा नाफा, वितरणयोग्य मुनाफा सहित अधिकांश वित्तीय सूचकमा उच्च सुधार भएको हो ।
अघिल्लो आवको तुलनामा गत आवमा बैंकको खुद नाफा २४ करोड ११ लाख रुपैयाँबाट २५२.९६ प्रतिशतको वृद्धि सहित ८५ करोड १० लाख रुपैयाँ पुगेको छ भने खुद ब्याज आम्दानी १ अर्ब ८५ करोड ७३ लाख रुपैयाँबाट साढे ७ प्रतिशतले बढेर १ अर्ब ९९ करोड ७२ लाख रुपैयाँ पुगेको छ ।
सोही अवधिमा बैंकको खुद फी तथा कमिसन आम्दानी भने २० करोड ६० लाख रुपैयाँबाट १८ करोड ४३ लाख रुपैयाँमा झरेको छ । यद्यपि बैंकको कुल सञ्चालन आम्दानी २ अर्ब १५ करोड रुपैयाँबाट २ अर्ब २८ करोड रुपैयाँ नाघेको छ भने सञ्चालन मुनाफा ५८ करोड ७० लाख रुपैयाँबाट १०८.५० प्रतिशतले बढेर १ अर्ब २१ करोड ७८ लाख रुपैयाँ पुगेको छ ।
यता बैंकको वितरणयोग्य मुनाफामा पनि उछाल आएको छ । गत आवमा बैंकको वितरणयोग्य मुनाफा ६१ करोड ५५ लाख रुपैयाँ पुगेको छ जुन अघिल्लो आवको १८ करोड ४३ लाख रुपैयाँको तुलनामा २३३.८९ प्रतिशत बढी हो ।
समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी पनि ६.६५ रुपैयाँबाट बढेर २३.४८ रुपैयाँ पुगेको छ भने खराब कर्जा ४.७१ प्रतिशतबाट बढेर ६.९४ प्रतिशत कायम भएको छ । बैंकको आधारदर ५.४८ प्रतिशत, कस्ट अफ फण्ड ३.९५ प्रतिशत र प्रतिशेयर नेटवर्थ २१३.७३ रुपैयाँ रहेको छ ।
चुक्ता पूँजी ३ अर्ब ६२ करोड ३६ लाख रुपैयाँ रहेको बैंकको रिजर्भ कोषमा ३ अर्ब ५० करोड ५५ लाख रुपैयाँ सञ्चिति रहेको छ । बैंकले लगानी विस्तार गर्दै कर्जा प्रवाह ४७ अर्ब ५ करोड रुपैयाँ रहेको छ भने निक्षेप संकलन ५७ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । कर्जा प्रवाह र निक्षेप संकलन दुवै घटेको देखिएको छ ।











