राष्ट्रिय वाणिज्य बैंकको नाफासँगै प्रतिशेयर आम्दानीमा उछाल, अधिकांश सूचकमा उत्साहजनक प्रगति

२८ श्रावण २०८३, बिहीबार ०८:३८

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार अघिल्लो आवको तुलनामा गत आवमा बैंकका अधिकांश सूचकहरूमा उल्लेख्य वृद्धि देखिएको हो।

बैंकले गत आवमा ४ अर्ब ५५ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो बैंकले अघिल्लो आवमा कमाएको २ अर्ब ८३ करोड ६० लाख रुपैयाँको तुलनामा ६०.६८ प्रतिशतले बढेको हो। गत आवमा बैंकको आम्दानीमा उत्साहजनक वृद्धि आएको र सम्भावित जोखिमका लागि छुट्याइएको इम्पेयरमेन्ट चार्ज घटेका कारण नाफा बढ्न मद्दत पुगेको हो।

बैंकको आम्दानीको मुख्य स्रोत खुद ब्याज आम्दानी १० अर्ब १५ करोड ३९ लाख रुपैयाँबाट १७.८५ प्रतिशतले बढेर ११ अर्ब ९६ करोड ६१ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी १३ अर्ब १८ करोड ५५ लाख रुपैयाँबाट १४.१९ प्रतिशतले बढेर १५ अर्ब ५ करोड ६६ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ३ अर्ब ९४ करोड २० लाख रुपैयाँबाट ह्वात्तै बढेर ६ अर्ब ४७ करोड ५३ लाख रुपैयाँ पुगेको छ जसकारण अघिल्लो वर्ष वितरणयोग्य मुनाफा ८५ करोड २ लाख रुपैयाँ ऋणात्मक रहेकोमा गत वर्षसम्म आइपुग्दा १ अर्ब ७ करोड ६९ लाख रुपैयाँ धनात्मक भएको छ।

चुक्ता पूँजी १५ अर्ब ६३ करोड रुपैयाँ रहेको बैंकको रिजर्भ कोष ३७ अर्ब ३९ करोडबाट बढेर ३९ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ। कर्जा प्रवाह २ खर्ब ९२ अर्ब ३३ करोडबाट ३ खर्ब ३२ अर्ब ८ करोड रुपैयाँ पुगेको छ भने निक्षेप संकलन ५ खर्ब ४१ करोडबाट ६ खर्ब ८६ अर्ब १३ करोड रुपैयाँ पुगको छ।

बैंकको प्रतिशेयर आम्दानी १०.२७ रुपैयाँबाट २९.१४ रुपैयाँ पुगेको छ भने खराब कर्जा (एनपीएल) ३.७९ प्रतिशतबाट ३.९५ प्रतिशत कायम भएको छ। कोष लागत ३.३३ प्रतिशतबाट २.९६ प्रतिशतमा झरेको छ। बैंकको सम्पत्तिको कुल मूल्य ५ खर्ब ८५ अर्बबाट ७ खर्ब ७८ अर्ब रुपैयाँ नाघेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*