इन्भेस्टमेन्ट मेगा बैंकको वित्तीय अवस्था सबल, दैनिक सञ्चालनमा समस्या छैन : राष्ट्र बैंक

२८ श्रावण २०८३, बिहीबार १८:५२

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा कुनै समस्या नरहेको स्पष्ट पारेको छ ।

बैंकका वित्तीय परिसूचकहरू केन्द्रीय बैंकले तोकेको मापदण्डभन्दा सबल रहेकाले बैंकको दैनिक सञ्चालनमा कुनै जटिलता आउने अवस्था नरहेको राष्ट्र बैंकले जनाएको हो ।

राष्ट्र बैंकले बिहीबार सूचना जारी गर्दै बैंकका सञ्चालकहरू र प्रमुख कार्यकारी अधिकृतविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर भएको विषयमा आफू जानकार रहेको जनाएको छ । बैंकको सञ्चालन तथा व्यवस्थापनलाई नजिकबाट अनुगमन गरिरहेको पनि केन्द्रीय बैंकले स्पष्ट पारेको छ ।

विद्यमान कानुनी व्यवस्थाका सन्दर्भमा आवश्यक राय–सुझाव लिई छलफल भइरहेको राष्ट्र बैंकले जनाएको छ । बैंकको हालको तरलता अवस्था पनि सबल रहेको सूचनामा उल्लेख छ ।

‘वित्तीय सबलताका परिसूचकहरू यस बैंकले तोकेको मापदण्डबमोजिम सन्तोषजनक रहेको हुँदा बैंकको दैनिक कार्यसञ्चालनमा कुनै पनि प्रकारको जटिलता उत्पन्न हुने अवस्था देखिएको छैन,’ राष्ट्र बैंकले जारी गरेको सूचनामा भनिएको छ ।

जिल्ला अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा बैंकको दैनिक सञ्चालनको अवस्था, मुद्दाको प्रकृति, समयावधि र गाम्भीर्यलाई आधार मानेर राष्ट्र बैंकले थप छलफल तथा कानुनी राय लिने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*