स्टार माइक्रो इन्स्योरेन्सको नाफामा १२५ प्रतिशतको उछाल, व्यवसायमा पनि उल्लेख्य सुधार

काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ मा आफ्नो व्यवसायिक आकार र नाफा दुवैमा उत्साहजनक प्रगति हासिल गरेको छ । कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफामा अघिल्लो वर्षको तुलनामा १२५.३० प्रतिशतको आकर्षक वृद्धि देखिएको हो ।
अघिल्लो आर्थिक वर्ष ५३ लाख २८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले समीक्षा अवधिमा १ करोड २० लाख ४ हजार रुपैयाँ नाफा कमाउन सफल भएको छ । नाफामा आएको यो सुधारसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि १.०१ रुपैयाँबाट बढेर २.२९ रुपैयाँ पुगेको छ ।

व्यवसाय विस्तारको पाटोतर्फ हेर्दा कम्पनीले यस अवधिमा ११ करोड २१ लाख ९७ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ जुन अघिल्लो वर्षको ५ करोड २९ लाख ८७ हजार रुपैयाँको तुलनामा १११.७४ प्रतिशतको वृद्धि हो । यस्तै कम्पनीको महाविपत्ति कोष र जगेडा कोषमा पनि आकर्षक सुधार देखिएको छ ।
कम्पनीले यस अवधिमा ६ करोड २ लाख ४५ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ जुन अघिल्लो वर्षको २ करोड ३५ लाख १९ हजार रुपैयाँको तुलनामा बढी हो । कम्पनीको ५२ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी यथावत रहँदा सोल्भेन्सी मार्जिन अनुपात १.९४ प्रतिशतमा स्थिर छ ।











