सिटिजन्स बैंकको वित्तीय विवरणमा झल्कियो प्रगतिः नाफा २ अर्ब ९ करोड, अधिकांश सूचकमा चमक

काठमाडौँ । सिटिजन्स बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार बैंकको खुद नाफासहित अधिकांश सूचकमा सुधार देखिएको हो ।
गत आर्थिक वर्षको असार मसान्तसम्मको अवधिमा कम्पनीले २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६३ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ अर्ब २८ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने १.९० प्रतिशतले घटेर ६ अर्ब २९ करोड ३६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ६ अर्ब ४१ करोड रुपैयाँ रहेको थियो ।
कम्पनीको सञ्चालन आम्दानी १ अर्ब ९८ करोड ६९ लाख रुपैयाँबाट ८१ प्रतिशतले बढेर ३ अर्ब ६० करोड १५ लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी ६.३३ प्रतिशत बढेर १ अर्ब ४३ करोड, कुल सञ्चालन आम्दानी २.१३ प्रतिशतले बढेर ८ अर्ब ३४ करोड र इम्पेरमेन्ट चार्ज ८२ करोड ९३ लाख रुपैयाँमा पुगेको छ ।
असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने ५२ करोड ३१ लाख रुपैयाँ रहेको छ । खराब कर्जा ४.८९ प्रतिशतबाट बढेर ५.८८ प्रतिशत पुगेको हो ।
चौथो त्रैमाससम्मको अवधिमा कम्पनीको चुक्ता पूँजी १५ अर्ब ५० करोड ७४ लाख रुपैयाँ, जगेडा कोषमा ९ अर्ब ३८ करोड ४१ लाख रुपैयाँ, निक्षेप संकलन २ खर्ब ३१ अर्ब ७३ र कर्जा प्रवाह १ खर्ब ७० अर्ब १४ करोड रुपैयाँ रहेको छ ।
यता, कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ८२ पैसा बढेर १३ रुपैयाँ ५३ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ ५१ पैसा रहेको छ।











