सालपा विकास बैंकको नाफा ४४ प्रतिशतले बढ्यो, लाभांश क्षमता भने ऋणात्मक

२९ श्रावण २०८३, शुक्रबार १३:१०

काठमाडौँ । सालपा विकास बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा नाफामा उल्लेख्य वृद्धि गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा ७६ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । यो अघिल्लो आर्थिक वर्षको ५२ लाख ८० हजार रुपैयाँको तुलनामा ४४.४१ प्रतिशतले बढी हो ।

बैंकको खुद ब्याज आम्दानीमा भने गिरावट आएको छ । समीक्षा वर्षमा ब्याज आम्दानी १४.३८ प्रतिशतले घटेर ६ करोड ३४ लाख रुपैयाँमा झरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले यस शीर्षकबाट ७ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

ब्याज आम्दानी घटे पनि कमिसन तथा शुल्कबाट हुने आम्दानी बढेपछि बैंकको समग्र नाफामा सकारात्मक प्रभाव परेको देखिन्छ । गत आवमा बैंकको कमिसन आम्दानी ३६.५६ प्रतिशतले वृद्धि भई १ करोड ८ लाख रुपैयाँ पुगेको छ ।

बैंकको खराब कर्जा अनुपातमा पनि उल्लेख्य सुधार भएको छ । अघिल्लो आर्थिक वर्षमा २.८० प्रतिशत रहेको एनपीएल समीक्षा अवधिमा घटेर ०.७९ प्रतिशतमा सीमित भएको छ ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) भने अघिल्लो आवको १.५१ रुपैयाँबाट घटेर १.४६ रुपैयाँमा आएको छ । प्रतिसेयर नेटवर्थ १०३.५२ रुपैयाँ, सीएआर ३२.५६ प्रतिशत तथा तरलता अनुपात ५१.३३ प्रतिशत रहेको वित्तीय विवरणमा उल्लेख छ ।

नाफा बढे पनि बैंकको वितरणयोग्य मुनाफा अझै ऋणात्मक अवस्थामा छ । समीक्षा अवधिसम्म वितरणयोग्य मुनाफा १ करोड ५ लाख ६१ हजार रुपैयाँ ऋणात्मक रहेको छ । यसका आधारमा बैंकको लाभांश क्षमता पनि २.०२ प्रतिशत ऋणात्मक देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*