आइएमई लाइफको वित्तीय विवरणमा झल्कियो प्रगतिः नाफामा सुधार, जीवन बीमाकोषमा ३९ प्रतिशत वृद्धि

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा आफ्नो व्यावसायिक जगलाई बलियो बनाउँदै वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले प्रकाशन गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार जीवन बीमा कोषमा उल्लेख्य सुधार देखिएको हो।
अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म ५८ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले यसपटक ५८ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा ०.१६ प्रतिशतको सामान्य वृद्धि हो। यता अघिल्लो वर्ष १३ अर्ब १० करोड ९० लाख रुपैयाँ रहेको कम्पनीको जीवन बीमा कोष ३९.४० प्रतिशतले वृद्धि भई यस वर्ष १८ अर्ब २७ करोड ४२ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको व्यवसाय विस्तारको मुख्य सूचक खुद बीमा शुल्क आर्जनमा पनि ३५.८२ प्रतिशतको फराकिलो वृद्धि देखिएको छ। अघिल्लो वर्ष ५ अर्ब ४९ करोड ४९ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको कम्पनीले यस वर्ष ७ अर्ब ४६ करोड ३० लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ।
खर्चको पाटोलाई हेर्दा कुल खर्च २८.८८ प्रतिशतले बढेर ८ अर्ब ४६ करोड ३० लाख रुपैयाँ पुगेको छ भने कुल दाबी भुक्तानी पनि १४.२० प्रतिशतले वृद्धि भई १ अर्ब ४६ करोड ५९ लाख रुपैयाँ कायम भएको छ। कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ यथावत रहँदा प्रतिशेयर आम्दानी ११ रुपैयाँ ६८ पैसा कायम भएको छ। यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ६६ पैसा रहेको छ। कम्पनीको सोल्भेन्सी मार्जिन अनुपात २.२२ प्रतिशतबाट २.५९ प्रतिशत कायम भएको छ।











