नेशनल लाइफको आम्दानीमा उल्लेख्य वृद्धि, जीवन बीमाकोष खर्बमाथि

३१ श्रावण २०८३, आईतवार ०७:३७

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय प्रतिवेदन अनुसार जीवन बीमा कोषमा उत्साहजनक वृद्धि देखिए पनि खुद नाफा र प्रतिशेयर आम्दानीमा भने केही गिरावट आएको छ।

कम्पनीको जीवन बीमा कोषले १ खर्बको ऐतिहासिक विन्दु पार गरेको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म ९३ अर्ब ९८ करोड ७७ लाख रुपैयाँ रहेको यो कोष १०.३५ प्रतिशतले बढेर गत असार मसान्तसम्म १ खर्ब ३ अर्ब ७१ करोड ४१ लाख रुपैयाँ पुगेको छ।

नाफाको हिसाबले हेर्दा कम्पनीले समीक्षा अवधिमा ३७ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १०.२३ प्रतिशतको गिरावट हो। अघिल्लो वर्ष कम्पनीले ४१ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) मा पनि कमी आएको छ। अघिल्लो वर्ष ७ रुपैयाँ ९२ पैसा रहेको प्रतिशेयर आम्दानी यस वर्ष १ रुपैयाँ २८ पैसाले घटेर ६ रुपैयाँ ६४ पैसा कायम भएको छ।

कम्पनी व्यापार विस्तारमा भने आक्रामक रूपमा प्रस्तुत भएको छ। नेशनल लाइफले समीक्षा अवधिमा २४ अर्ब १५ करोड ८७ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ जुन अघिल्लो वर्षको तुलनामा १२.५१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले २१ अर्ब ४७ करोड २७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो। यस्तै कर्जा तथा लगानीबाट हुने आम्दानीमा पनि ३.०१ प्रतिशतको सुधार भई ६ अर्ब २ करोड ७ लाख रुपैयाँ पुगेको छ। कम्पनीको कुल आम्दानी १०.४३ प्रतिशतले बढेर ३१ अर्ब ६१ करोड रुपैयाँ पुग्दा कुल खर्च पनि ११.०४ प्रतिशतले बढेर ३० अर्ब ४५ करोड ९२ लाख रुपैयाँ नाघेको छ।

कम्पनीको चुक्ता पूँजी ४ प्रतिशतले वृद्धि भई ५ अर्ब ६९ करोड १६ लाख रुपैयाँ पुगेको छ भने महाविपत्ति कोष ५.४२ प्रतिशतले बढेर ७४ करोड ५९ लाख रुपैयाँ कायम भएको छ। तर रिटेन्ड अर्निङमा भने ४३.७६ प्रतिशतको गिरावट आएको छ। अघिल्लो वर्ष ८७ करोड १० लाख रुपैयाँ रहेको जगेडा कोष ४८ करोड ९८ लाखमा झरेको छ। हाल कम्पनीको प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ ७५ पैसा रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*