सन नेपाल लाइफको वित्तीय विवरणमा देखियो चमकः नाफा ४१ करोड ८५ लाख, जीवन बीमाकोषमा २७% वृद्धि

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष २०८२।०८३ को चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार कम्पनीको नाफा केहि घटेपनि अधिकांश सूचकमा भने सुधार देखिएको हो ।
गत आर्थिक वर्षको असार समान्तसम्मको अवधिमा कम्पनीले ४१ करोड ८५ लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । उक्त नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २२.८४ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ५४ करोड २४ लाख ७८ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यता कम्पनीको जीवन बीमाकोष १० अर्ब १० करोड ४७ लाख रुपैयाँबाट २७.७० प्रतिशतले बढेर १२ अर्ब ९० करोड ३६ लाख रुपैयाँ नाघेको छ ।

कम्पनीको ब्यवसायमा पनि सुधार देखिएको वित्तीय विवरणले उल्लेख गरेको छ । समीक्षा अवधिमा खुद बीमाशुल्क आर्जन १३.१४ प्रतिशतले बढेर ४ अर्ब ८९ करोड ४५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त ब्यवसाय ४ अर्ब ३२ करोड ६० लाख रुपैयाँमा सीमित रहेको थियो ।
समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ८.०५ प्रतिशतले बढेर ५ अर्ब ८३ करोड ९८ लाख रुपैयाँ पुगेको छ भने कुल खर्च ११.६३ प्रतिशतले बढेर ५ अर्ब ४७ करोड ३६ लाख रुपैयाँ पुगेको छ । अभिकर्तालाई दिइने कमिशन भने ९.९० प्रतिशतले वृद्धि भएर ४६ करोड ७६ लाख रुपैयाँ नाघेको छ।
प्रतिशेयर आम्दानी ११.२२ रुपैयाँबाट घटेर ७.९२ रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १४२.८८ रुपैयाँ छ। चुक्ता पूँजी ५ अर्ब २८ करोड रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा २४ करोड ८ लाख रुपैयाँ र जगेडा कोषमा ३६ करोड ८४ लाख रुपैयाँ सञ्चिति रहेको छ।











