राष्ट्रिय जीवन बीमा कम्पनी घाटामा, प्रतिशेयर आम्दानी पनि ऋणात्मक

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार यस वर्ष जीवन बीमा कोषको आकारमा राम्रो वृद्धि भए पनि नाफा र जगेडा कोषमा भने ठूलो दबाब परेको छ।
कम्पनीको जीवन बीमा कोषमा भने उल्लेख्य सुधार आएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म ६२ अर्ब १९ करोड २७ लाख रुपैयाँ रहेको यो कोष यस वर्ष १४.९३ प्रतिशतले बढेर ७१ अर्ब ४७ करोड ९५ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी कम्पनीको महाविपत्ति कोषमा पनि २७.६१ प्रतिशतको बढोत्तरी भई ४ करोड १ लाख रुपैयाँ कायम भएको छ।
कम्पनीको नाफाको अवस्था भने यस वर्ष निकै कमजोर देखिएको छ। अघिल्लो वर्ष २ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनी यस वर्ष २ करोड ३८ लाख रुपैयाँ नोक्सानीमा गएको छ। नाफा ऋणात्मक भएसँगै प्रतिशेयर आम्दानीमा पनि गिरावट आई १३ रुपैयाँ १५ पैसा नोक्सानीमा पुगेको छ जबकि अघिल्लो वर्ष ११ रुपैयाँ ८६ पैसा सकारात्मक थियो। कम्पनीको जगेडा कोषमा पनि अघिल्लो वर्ष ३८ करोड ३६ लाख रुपैयाँ सञ्चित रहेकामा यस वर्ष ३ अर्ब ६८ करोड ८१ लाख रुपैयाँ ऋणात्मक देखिएको छ।

कम्पनीले आम्दानी र खर्चको सन्तुलन मिलाउन नसकेको विवरणले देखाएको छ। कम्पनीको कुल आम्दानीमा सामान्य ०.३३ प्रतिशतको वृद्धि भई १४ अर्ब ९ करोड १९ लाख रुपैयाँ पुगेको छ भने खुद बीमा शुल्क आम्दानी १.५८ प्रतिशतले बढेर ९ अर्ब ७१ करोड ३१ लाख रुपैयाँ पुगेको छ। तर कुल खर्च ८.२३ प्रतिशतले बढेर १४ अर्ब ११ करोड ५७ लाख रुपैयाँ पुग्दा नाफामा प्रत्यक्ष असर परेको देखिन्छ।
कम्पनीको चुक्ता पूँजी १८ करोड १० लाख रुपैयाँमा स्थिर रहे पनि बीमा पोलिसीको संख्यामा भने केही गिरावट आएको छ। अघिल्लो वर्ष ५ लाख ७५ हजार ९८० वटा पोलिसी रहेकामा यस वर्ष ५ लाख ११ हजार १२३ वटा मात्र पोलिसी कायम भएका छन्।











