नेपाल माइक्रो इन्स्योरेन्सको आम्दानीसँगै नाफामा उछाल

३१ श्रावण २०८३, आईतवार १०:४२

काठमाडौं । लघुबीमा व्यवसायमा सक्रिय नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ मा उत्साहजनक वित्तीय प्रगति हासिल गरेको छ। कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा आम्दानीसँगै नाफामा उच्च वृद्धि भएको देखिएको हो।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा जम्मा १६ लाख ५७ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको यस कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा २ हजार ४७१ प्रतिशतभन्दा बढीको वृद्धि गर्दै ४ करोड २६ लाख १० हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) मा पनि ठूलो सुधार आएको छ। यो अघिल्लो वर्षको २२ पैसाबाट बढेर अहिले ५ रुपैयाँ ६८ पैसा पुगेको छ।

व्यवसाय विस्तारका हिसाबले पनि कम्पनीले बलियो छलाङ मारेको छ। समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन ५३.३६ प्रतिशतले बढेर २९ करोड ७० लाख रुपैयाँ पुगेको छ जुन अघिल्लो वर्ष १९ करोड ३६ लाख रुपैयाँ मात्र थियो।

कम्पनीको बीमाकोष अघिल्लो वर्षको १७ करोड १९ लाखबाट ५०.७६ प्रतिशतले बढेर २५ करोड ९१ लाख रुपैयाँ पुगेको छ। त्यस्तै अघिल्लो वर्ष ५७ लाख रुपैयाँ ऋणात्मक रहेको जगेडा कोष गत वर्ष सुधारिएर २ करोड ६ लाख रुपैयाँ कायम भएको छ। हाल ७५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ ३६ पैसा रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*