प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको नाफामा उछाल, व्यवसाय विस्तारमा आक्रामक

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले गत आवको चौथो त्रैमाससम्ममा उत्साहजनक वित्तीय नतिजा सार्वजनिक गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा खुद नाफामा ३७० प्रतिशतभन्दा बढीको फराकिलो वृद्धि गरेको हो।
समीक्षा अवधिमा कम्पनीले ६० लाख १ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको १२ लाख ७५ हजार रुपैयाँको तुलनामा उल्लेखनीय सुधार हो।
कम्पनीको व्यवसाय विस्तारको मुख्य आधार खुद आर्जित बीमा शुल्क पनि ११५.११ प्रतिशतले बढेर १२ करोड १९ लाख ७४ हजार रुपैयाँ पुगेको छ जुन अघिल्लो वर्ष ५ करोड ६७ लाख ४ हजार रुपैयाँमा सीमित थियो।
कम्पनीको बीमा कोष ५८.९४ प्रतिशतले वृद्धि भई ३२ करोड ६६ लाख ५१ हजार रुपैयाँ पुगेको छ। ५२ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी यथावत रहेको यस कम्पनीको प्रतिशेयर आम्दानी अघिल्लो वर्ष मात्र २४ पैसा रहेकोमा गत वर्ष बढेर १ रुपैयाँ ५२ पैसा पुगेको छ।












