आर्थिक वर्ष २०८२।०८३ मा जीवन बीमकको व्यवसाय २ खर्ब २ अर्ब, यस्तो छ १४ कम्पनीको अवस्था

काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०८२/०८३ मा दुई खर्ब दुई अर्ब ६९ करोड ३९ लाख तीन हजार रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीहरुले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार सञ्चालित १४ वटा जीवन बीमा कम्पनीले उक्त बीमा शुल्क आर्जन गरेका हुन् ।
विवरणअनुसार अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को तुलनामा जीवन बीमा कम्पनीहरुको बीमा व्यवसाय १२.७३ प्रतिशतले वृद्धि भएको छ । कम्पनीहरुले अघिल्लो आर्थिक वर्षमा एक खर्ब ७९ अर्ब ८० करोड २१ लाख ५१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । एक वर्षको अवधिमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जनमा उल्लेख्य वृद्धि भएको हो ।
कुल बीमा शुल्क आर्जनको आधारमा नेपाल लाइफ इन्स्योरेन्स र नेशनल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेका छन् भने वृद्धिदरका आधारमा आइएमई लाइफ इन्स्योरेन्स र सिटिजन लाइफ इन्स्योरेन्स अगाडि रहेका छन् ।
नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा आफ्नो व्यवसाय १२.१० प्रतिशतले वृद्धि गर्दै ५४ अर्ब तीन करोड ४२ लाख ९४ हजार रुपैयाँ पुर्याउन सफल भएको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ४८ अर्ब २० करोड २ लाख एक हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।
त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्सले २४ अर्ब ८४ करोड ६६ लाख ५९ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको बीमा शुल्क आर्जन अघिल्लो आर्थिक वर्षको २१ अर्ब ८२ करोड २२ लाख १७ हजार रुपैयाँको तुलनामा १३.८६ प्रतिशतले बढेको हो ।
लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले गत आर्थिक वर्षमा २१ अर्ब २४ करोड ८८ लाख ८४ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा १९ अर्ब ९३ करोड ८३ लाख पाँच हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको कम्पनीको व्यवसाय ६.५७ प्रतिशतले वृद्धि भएको छ ।
हिमालयन लाइफ इन्स्योरेन्सले १८ अर्ब ६९ करोड १६ लाख ३२ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षमा १७ अर्ब ६६ करोड आठ लाख १७ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । यस अवधिमा कम्पनीको बीमा व्यवसाय ५.८४ प्रतिशतले बढेको छ ।
सूर्यज्योति लाइफ इन्स्योरेन्सले १३ अर्ब १६ करोड ४७ लाख ५५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा ११ अर्ब ३५ करोड ५१ लाख ४२ हजार रुपैयाँ आर्जन गरेको कम्पनीले आफ्नो बीमा व्यवसाय १५.९४ प्रतिशतले वृद्धि गरेको हो ।
एशियन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा १० अर्ब ६४ करोड ३७ लाख १६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीले नौ अर्ब ४० करोड ८६ लाख २८ हजार रुपैयाँ आर्जन गरेको थियो । कम्पनीको बीमा शुल्क आर्जन १३.१३ प्रतिशतले बढेको छ ।
राष्ट्रिय जीवन बीमा कम्पनीले नौ अर्ब ७७ करोड ३१ लाख ४८ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा नौ अर्ब ६३ करोड ७७ लाख १० हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको कम्पनीको व्यवसाय १.४१ प्रतिशतले मात्र वृद्धि भएको छ । १४ कम्पनीमध्ये यो सबैभन्दा न्यून वृद्धिदर हो ।
सिटिजन लाइफ इन्स्योरेन्सले नौ अर्ब ३७ करोड ४१ लाख १० हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा सात अर्ब ५४ करोड ८१ लाख ९० हजार रुपैयाँ आर्जन गरेको कम्पनीले आफ्नो बीमा व्यवसाय २४.१९ प्रतिशतले वृद्धि गरेको छ । वृद्धिदरका आधारमा सिटिजन लाइफ दोस्रो स्थानमा रहेको छ ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आठ अर्ब नौ करोड छ लाख तीन हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा सात अर्ब पाँच करोड ३६ लाख ८६ हजार रुपैयाँ आर्जन गरेको कम्पनीको बीमा व्यवसाय १५.४९ प्रतिशतले बढेको छ ।
आइएमई लाइफ इन्स्योरेन्सले सात अर्ब ७३ करोड ६९ लाख ४७ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा पाँच अर्ब ६५ करोड २५ लाख ७३ हजार रुपैयाँ आर्जन गरेको कम्पनीको बीमा व्यवसाय ३६.८७ प्रतिशतले वृद्धि भएको छ । सबै जीवन बीमा कम्पनीमध्ये आइएमई लाइफको वृद्धिदर सबैभन्दा उच्च रहेको छ ।
मेट लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा छ अर्ब ८६ करोड तीन लाख २६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा छ अर्ब २५ करोड ८३ लाख ८६ हजार रुपैयाँ आर्जन गरेको कम्पनीको व्यवसाय ९.६२ प्रतिशतले बढेको छ ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले छ अर्ब ६३ करोड ४१ लाख ९७ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा पाँच अर्ब ३९ करोड ९९ लाख ६१ हजार रुपैयाँ आर्जन गरेको कम्पनीले आफ्नो बीमा व्यवसाय २२.८६ प्रतिशतले वृद्धि गरेको छ ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले छ अर्ब ४९ करोड ८४ लाख ३४ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा पाँच अर्ब ३७ करोड ३३ लाख ३३ हजार रुपैयाँ आर्जन गरेको कम्पनीको बीमा व्यवसाय २०.९४ प्रतिशतले बढेको छ ।
त्यस्तै, सन नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा पाँच अर्ब नौ करोड ६ लाख ९८ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा चार अर्ब ५३ करोड ९३ लाख ६६ हजार रुपैयाँ आर्जन गरेको कम्पनीले आफ्नो बीमा व्यवसाय १२.२७ प्रतिशतले वृद्धि गरेको छ ।











