क्रेस्ट माइक्रो लाइफको व्यवसाय बढ्यो, कस्तो छ समग्र वित्तीय अवस्था ?

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार समीक्षा अवधिमा कम्पनीको व्यवसाय विस्तार र बीमा शुल्क संकलनमा उत्साहजनक प्रगति देखिए पनि खुद नाफामा भने संकुचन आएको छ ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ४३ करोड ४० लाख १५ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.९३ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले ३३ करोड ९२ लाख ५४ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । कम्पनीको जीवन बीमा कोषमा पनि उल्लेख्य सुधार आएको छ । अघिल्लो वर्ष ८ करोड ८५ लाख ९८ हजार रुपैयाँ रहेको यस्तो कोष १२४.३६ प्रतिशतले वृद्धि भई १९ करोड ८७ लाख ७७ हजार रुपैयाँ पुगेको छ ।
यसरी व्यावसायिक सूचकहरूमा राम्रो सुधार देखिए पनि कम्पनीको खुद नाफा भने करिब ९० प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्ष २ करोड ४६ लाख ४७ हजार रुपैयाँ नाफा कमाएको कम्पनीले गत आर्थिक वर्षमा जम्मा २५ लाख २६ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गर्न सफल भएको छ ।
समीक्षा अवधिमा कम्पनीको कुल खर्च ४९ करोड ८० लाख ३५ हजार रुपैयाँ पुगेको छ जुन अघिल्लो वर्षको तुलनामा २८.१२ प्रतिशतले बढी हो । नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि २.४१ रुपैयाँबाट घटेर ०.३४ रुपैयाँमा खुम्चिएको छ । हाल ७५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको प्रतिशेयर नेटवर्थ भने १०५.०९ रुपैयाँ कायम भएको छ ।












