निर्जीवन बीमाको प्रतिशेयर आम्दानीमा ठूलो गिरावट, १२ मध्ये ११ कम्पनीको ईपीएस घट्यो

काठमाडौं । शेयर बजारमा कम्पनीको वित्तीय अवस्था र नाफाको गुणस्तर मापन गर्न सबैभन्दा बढी हेरिने सूचकहरूमध्ये प्रतिशेयरआम्दानी प्रमुख हो । कम्पनीको करपछिको नाफालाई कुल शेयर संख्याले भाग गर्दा प्राप्त हुने प्रतिशेयर आम्दानीले कम्पनीले प्रत्येक शेयरबाट कति आम्दानी गरिरहेको छ भन्ने देखाउँछ । त्यसैले कुल नाफासँगै प्रतिशेयर आम्दानीलाई पनि लगानीकर्ताले कम्पनीको वित्तीय अवस्था मूल्यांकन गर्ने महत्वपूर्ण आधारका रूपमा लिने गरेका छन् । शेयर संख्या बढ्दा प्रतिशेयर आम्दानी घट्न सक्ने भएकाले कुल नाफाभन्दा प्रतिसेयर आम्दानीलाई अझ महत्वपूर्ण मानिन्छ ।
गत आर्थिक वर्ष २०८२/८३ को विवरण हेर्दा अधिकांश निर्जीवन बीमा कम्पनीको प्रतिशेयर आम्दानी अघिल्लो आर्थिक वर्ष २०८१/०८२को सोही अवधिको तुलनामा घटेको छ । सार्वजनिक भएका अपरिष्कृत वित्तीय विवरणअनुसार नेप्सेमा सूचीकृत १२ निर्जीवन बीमा कम्पनीमध्ये ११ कम्पनीको प्रतिशेयर आम्दानी घटेको छ भने एक कम्पनीको मात्र बढेको छ ।
१२ निर्जीवन बीमा कम्पनीको प्रतिशेयर आम्दानीको औसत १७ रुपैयाँ ५० पैसा रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो औसत २७ रुपैयाँ ६५ पैसा थियो । यसअनुसार कम्पनीहरूको औसत प्रतिसेयर आम्दानी १० रुपैयाँ १५ पैसाले घटेको देखिन्छ ।
सबैभन्दा धेरै प्रतिशेयर आम्दानी राष्ट्रिय बीमा कम्पनीको रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी असार मसान्तसम्म १२९ रुपैयाँ १८ पैसा रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १६० रुपैयाँ ३८ पैसा थियो । यसअनुसार कम्पनीको प्रतिशेयर आम्दानी ३१ रुपैयाँ २० पैसाले घटेको छ ।

प्रतिशेयर आम्दानीका आधारमा दोस्रो स्थानमा हिमालयन एभरेस्ट इन्स्योरेन्स रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ५१ पैसा रहेको छ, जुन अघिल्लो वर्षको २१ रुपैयाँ २९ पैसाको तुलनामा ७ रुपैयाँ ७८ पैसाले कम हो ।
प्रभु इन्स्योरेन्सको प्रतिशेयर आम्दानी भने बढेको छ । अघिल्लो वर्ष ११ रुपैयाँ १३ पैसा रहेको कम्पनीको प्रतिशेयर आम्दानी यस वर्ष १३ रुपैयाँ ३३ पैसा पुगेको छ । १२ कम्पनीमध्ये प्रतिशेयर आम्दानी बढाउने एकमात्र कम्पनी प्रभु इन्स्योरेन्स बनेको छ ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ९४ पैसा रहेको छ । अघिल्लो वर्ष १५ रुपैयाँ ३७ पैसा रहेको कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ४३ पैसाले घटेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ६५ पैसा छ, जुन अघिल्लो वर्षको २६ रुपैयाँ ९३ पैसाको तुलनामा १५ रुपैयाँ २८ पैसाले कम हो ।
नेको इन्स्योरेन्सको प्रतिसेयर आम्दानी १० रुपैयाँ ४० पैसा रहेको छ । अघिल्लो वर्ष २३ रुपैयाँ १ पैसा रहेको कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ६१ पैसाले घटेको छ । सानिमा जिआइसी इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७६ पैसा रहेको छ । अघिल्लो वर्ष १५ रुपैयाँ ६६ पैसा रहेको कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ९० पैसाले घटेको हो ।
नेपाल इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ५ रुपैयाँ रहेको छ । अघिल्लो वर्ष १६ रुपैयाँ ७४ पैसा रहेको कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ७४ पैसाले घटेको छ । शिखर इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ४ रुपैयाँ १९ पैसा रहेको छ । अघिल्लो वर्षको १५ रुपैयाँ ५० पैसाको तुलनामा कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ३१ पैसाले घटेको हो ।
यस्तै युनाइटेड अजोड इन्स्योरेन्सको प्रतिशेयर आम्दानी २ रुपैयाँ ७३ पैसा रहेको छ । अघिल्लो वर्ष ७ रुपैयाँ ७१ पैसा रहेको कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ९८ पैसाले घटेको छ । एनएलजी इन्स्योरेन्सको प्रतिशेयर आम्दानी २ रुपैयाँ १७ पैसा रहेको छ । अघिल्लो वर्ष ५ रुपैयाँ ९८ पैसा रहेको कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ८१ पैसाले घटेको हो ।
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको प्रतिशेयर आम्दानी सबैभन्दा कम देखिएको छ । कम्पनीको प्रतिशेयर आम्दानी १३ पैसा मात्र रहेको छ । अघिल्लो वर्ष कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ५ पैसा थियो । यसअनुसार कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ९२ पैसाले घटेको छ ।











