लगानीकर्ताको लगानी बालुवामा पानिः अनिश्चित बाटोमा पुँजी बजार, यी कारण आउँदैछ गिरावट !

काठमाडौँ । शेयर बजार राताम्य भएको छ । पछिल्लो केहि समयदेखि बजार अनिश्चित बाटोमा लम्कि रहेको हो । बजारमा कारोबार सक्रिय रहे पनि जोखिम लिन लगानीकर्ता अझै हिच्किचाइरहेका कारण नेप्सेले स्थायी उकालो गति समात्न सकेको छैन ।
पूँजी बजारको विकास र लगानीकर्ताको विश्वास बढाउने विषयमा सरकारका तर्फबाट सकारात्मक धारणा सार्वजनिक भइरहे पनि त्यसको प्रत्यक्ष प्रभाव भने बजारमा देखिन सकेको छैन । नियामक निकायका सकारात्मक अभिव्यक्तिले लगानीकर्ताको अपेक्षा बढाए पनि त्यसअनुसारको नीतिगत आधार र कार्यान्वयनको विश्वास निर्माण हुन बाँकी देखिन्छ । लगानीकर्ताले आश्वासनभन्दा पनि स्पष्ट नीति, स्थिरता र बजारमैत्री निर्णय खोजिरहेका छन् । यही कारण सकारात्मक सन्देशहरू आए पनि त्यसले तत्काल खरिद चाप बढाउन सकेको छैन ।
व्यवसायीमाथिको सरकारी कारबाही र धरपकडले पनि बजारमा जोखिमप्रतिको धारणा थप संवेदनशील बनाएको जानकारहरूको बुझाइ छ । व्यवसायिक वातावरणमा अनिश्चितता बढ्दा ठूला लगानीकर्ता नयाँ लगानी विस्तारभन्दा विद्यमान सम्पत्ति जोगाउने रणनीतिमा केन्द्रित देखिन्छन् । साना लगानीकर्ताको सहभागिता रहे पनि सीमित पूँजी र बढ्दो सतर्कताका कारण त्यसले समग्र बजारमा बलियो माग सिर्जना गर्न सकेको छैन ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.३४ अकंले घटेर २६२२.४८ बिन्दुमा कायम भएको छ । आज ३४७ कम्पनीको १ करोड ५० लाख ८० हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १ करोड ३७ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन १२ वटा उपसूचक राताम्य भएका छन् । आज व्यापार समूहको शेयर मूल्यमा मात्रै सामान्य सुधार देखिएको हो ।

मंगलबार ५७ कम्पनीको शेयर मूल्य बढेको छ भने २१७ कम्पनीको घटेको छ । ५ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।











