रोकिराखेको ‘सुपर सोको’ इलेक्ट्रिक स्कुटरमा अचानक आगलागी, उपभोक्तामा त्रास

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित सनसिटी चोकमा रोकिराखेको अवस्थामा ‘सुपर सोको’ ब्राण्डको इलेक्ट्रिक स्कुटरमा आगलागी भएको छ । सोमबार बागमती प्रदेश ०२–०२७ प ९८५६ नम्बरको इलेक्ट्रिक स्कुटर अचानक आगलागी हुँदा स्कुटरको अधिकांश भाग जलेर नष्ट भएको हो ।
चलाइरहेको अवस्थामा नभई पार्किङ गरेर राखिएको स्कुटरमा आगलागी भएपछि घटनाले विद्युतीय सवारीसाधनको सुरक्षा र ब्याट्री प्रणालीबारे पुनः प्रश्न उठाएको छ । विशेषगरी पछिल्लो समय विद्युतीय स्कुटरको प्रयोग बढिरहेका बेला पार्किङकै अवस्थामा स्कुटरमा आगलागी भएको घटनाले उपभोक्तामा चिन्ता थपेको छ ।
उक्त ‘सुपर सोको’ ब्राण्डका स्कुटर नेपालमा देबाज्योती ग्रुपअन्तर्गतको डि–लाइफ स्टाइल्सले बिक्री तथा वितरण गर्दै आएको छ । महँगो मूल्यमा बिक्री हुने विद्युतीय स्कुटर रोकिराखेको अवस्थामा नै जलेपछि यसको गुणस्तर, ब्याट्रीको अवस्था, चार्जिङ प्रणाली तथा आगलागीको वास्तविक कारणबारे चासो बढेको छ ।

आगलागीबाट स्कुटरको अगाडिदेखि पछाडिसम्मको अधिकांश भागमा क्षति पुगेको देखिएको छ । विद्युतीय सवारीसाधनलाई वातावरणमैत्री र कम सञ्चालन खर्च हुने विकल्पका रूपमा उपभोक्ताले रोजिरहेका बेला यस्ता आगलागीका घटनाले यसको सुरक्षाप्रति थप अनुसन्धान र स्पष्टता आवश्यक रहेको देखाएको छ । विशेषगरी स्कुटर प्रयोगकर्ताले आफ्नो सवारीमा प्रयोग भएको ब्याट्री, चार्जिङ प्रणाली र अन्य विद्युतीय उपकरणको अवस्था नियमित रूपमा परीक्षण गराउनुपर्ने आवश्यकता पनि घटनाले औंल्याएको छ ।











