लघुवित्त पीडितको धर्नास्थलमा पुगिन् पूर्वराष्ट्रपति भण्डारी

२ भाद्र २०८३, मंगलवार १८:५५

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पाँच दिनदेखि धर्नामा रहेका सहकारी तथा लघुवित्त पीडितलाई भेट्न मंगलबार अपराह्न पुल्चोक पुगेकी छन् ।

भण्डारी राष्ट्रिय मानवअधिकार आयोग परिसरमा धर्नामा रहेका आन्दोलनरत पीडितलाई भेट्न पुगेकी हुन् । पीडितहरूले सरकारले आफूहरूका माग तथा तत्कालीन सरकारसँग भएको पूर्ववत् सहमतिको कार्यान्वयनमा बेवास्ता गरेको गुनासो गरेका छन् ।

धर्नास्थलमा पीडितहरूले ‘बालेनले हामीलाई सुनेनन्, एन्टोनियो गुटेरेस तिमीले हाम्रो दुःख–पीडा सुनिदेऊ’ र ‘हाम्रो घर छैन, परिवार छैन, नेपालले देखेन, संयुक्त राष्ट्र संघले देखोस् हाम्रो पीडा’ लगायतका सन्देश लेखिएका प्लेकार्ड राखेका छन् ।

सहकारी तथा लघुवित्त पीडितहरूले २०८२ माघमा तत्कालीन सरकारसँग भएको सहमति कार्यान्वयन गर्न माग गर्दै गत साउन २९ गते राष्ट्रिय मानवअधिकार आयोगमा ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझाएपछि उनीहरूले आयोगको कार्यालयबाहिर धर्ना सुरु गरेका हुन् ।

पीडितहरूले आफूहरूका समस्या समाधानका लागि सरकार र सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने माग गर्दै आएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*