बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

३ भाद्र २०८३, बुधबार ११:११

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले बुधबार निक्षेप संकलन उपकरणमार्फत ३५ अर्ब रुपैयाँ संकलनका लागि बोलकबोल आह्वान गरेको हो। १८० दिन अवधिका लागि गरिने उक्त निक्षेप संकलनको बोलकबोल दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टममार्फत हुनेछ।

बोलकबोलबाट निर्धारण हुने ब्याजदरका आधारमा निक्षेप संकलन गरिने राष्ट्र बैंकले जनाएको छ। बोल गर्न सकिने न्यूनतम रकम १० करोड रुपैयाँ तोकिएको छ भने त्यसपछि ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने रकमसम्म कुल आह्वान रकम १०० अर्ब रुपैयाँको सीमाभित्र बोल गर्न सकिनेछ।

निक्षेप संकलन उपकरणमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन्।

बोलकबोलमा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बोललाई पहिलो प्राथमिकता दिई क्रमशः रकम बाँडफाँड गरिनेछ। समान ब्याजदरमा आह्वान रकमभन्दा बढी माग भएमा समानुपातिक आधारमा बोल रकम बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ।

स्वीकृत बोलपत्रको रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाको राष्ट्र बैंकमा रहेको खाताबाट कट्टा गरी निक्षेप खातामा जम्मा गरिनेछ। निष्काशनका दिन खातामा पर्याप्त मौज्दात नभएमा सम्बन्धित संस्थालाई कालोसूचीमा राखी आगामी बोलकबोलमा सहभागी हुन रोक लगाउने व्यवस्था समेत गरिएको छ।

राष्ट्र बैंकका अनुसार निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज आगामी माघ ८ गते भुक्तानी गरिनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*