राफसाफ र फर्स्यौट नगरेपछि बेनी सेक्युरिटिजमाथि नेप्सेको कारबाही

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बेनी सेक्युरिटिज प्रालि (ब्रोकर नं. ९३) लाई तीन कार्य दिनका लागि निलम्बन गरेको छ । राफसाफ तथा फर्स्यौटको काम तोकिएको समयभित्र पूरा नगरेको भन्दै नेप्सेले बुधबार (भदौ ३ गते) देखि लागू हुने गरी कम्पनीको सेयर कारोबार रोक्का गरेको हो ।
सीडीएस एण्ड क्लियरिङ लिमिटेडले बेनी सेक्युरिटिजले तोकिएको समयावधिभित्र राफसाफ तथा फर्स्यौट कार्य पूरा नगरेको भन्दै निलम्बनका लागि नेप्सेलाई सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा नेप्सेको सुपरीवेक्षण शाखाले बुधबार पत्र जारी गर्दै कम्पनीलाई कारबाही गरेको जनाएको छ ।
नेप्सेले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम २२ (१) (छ) बमोजिम बेनी सेक्युरिटिजलाई आगामी तीन कार्य दिनका लागि निलम्बन गरेको हो ।
निलम्बन अवधिभर उक्त ब्रोकर कम्पनीमार्फत लगानीकर्ताले सेयर खरिद–बिक्री गर्न पाउने छैनन् । नेप्सेले निलम्बनसम्बन्धी जानकारी नेपाल धितोपत्र बोर्ड, सीडीएस एण्ड क्लियरिङ लिमिटेड तथा सम्बन्धित अन्य शाखालाई समेत गराएको छ ।









