कृषि विकास बैंकका पूर्व कर्मचारीलाई एक लाखको स्वास्थ्य बीमा सुविधा

काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले आफ्ना पूर्व कर्मचारीका लागि सामूहिक स्वास्थ्य उपचार बीमा सुविधा उपलब्ध गराउने भएको छ। बैंकले एक वर्ष अवधिका लागि एक लाख रुपैयाँ बीमाङ्क रकम बराबरको सामूहिक स्वास्थ्य उपचार बीमा गर्न लागेको हो।
बैंकले यसका लागि सम्बन्धित पूर्व कर्मचारीलाई आवश्यक प्रक्रिया पूरा गरी आगामी २०८३ साल कात्तिक १५ गतेभित्र जनशक्ति व्यवस्थापन विभागमा प्राप्त हुने गरी निवेदन पेश गर्न आग्रह गरेको छ। बैंकका अनुसार कम्तीमा १५ वर्ष स्थायी, अस्थायी, मासिक पारिश्रमिक वा करारमा सेवा गरेका र ७० वर्ष उमेर ननाघेका पूर्व कर्मचारीले मात्र यो सुविधा पाउनेछन्।
सामूहिक स्वास्थ्य बीमा सुविधाका लागि पूर्व कर्मचारीले आफू बसोबास गरेको वा आफूलाई पायक पर्ने बैंकको नजिकको कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ। निवेदनसँगै बैंकले जारी गरेको पूर्व कर्मचारी परिचयपत्र वा पूर्व कर्मचारी भएको प्रमाणित हुने पत्र तथा नागरिकताको प्रतिलिपि पेश गर्नुपर्ने बैंकले जनाएको छ।
तर, कृषि विकास बैंक लिमिटेड कर्मचारी सेवा विनियमावलीको परिच्छेद सातबमोजिम सजाय भई बैंकबाट बर्खास्त भएका वा अदालतबाट दोषी ठहर भई सजाय पाएका पूर्व कर्मचारीले भने उक्त सामूहिक स्वास्थ्य बीमा सुविधा प्राप्त गर्न सक्ने छैनन्।
बैंकले यो सूचना २०८३ साल भदौ ३ गते पहिलोपटक प्रकाशित गर्दै सम्बन्धित सबै पूर्व कर्मचारीलाई तोकिएको समयभित्र निवेदन पेश गर्न आग्रह गरेको हो।











