अबोध गरिमाको हत्यापछि बारा अशान्त, दोषीलाई कारबाहीको माग गर्दै सडक अवरुद्ध

४ भाद्र २०८३, बिहीबार १०:१४

काठमाडौँ । जीतपुरसिमरा उपमहानगरपालिका–१, दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा स्थानीयवासीले सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन्। पीडित परिवार तथा स्थानीयवासीले बुधबार बिहानैदेखि पथलैया–वीरगन्ज सडकखण्डमा टायर बालेर प्रदर्शन गर्दै सडक ठप्प पारेका हुन्।

बालिकाको हत्यामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्नुपर्ने र पीडित परिवारलाई न्याय दिनुपर्ने माग गर्दै भइरहेको प्रदर्शन आज पनि जारी छ।

तीन दिनदेखि बेपत्ता रहेकी गरिमा मंगलबार साँझ भक्तिटोलस्थित करिब पाँच महिनादेखि खाली रहेको वीरबहादुर रोक्काको घरभित्र मृत अवस्थामा फेला परेकी थिइन्। प्रहरीका अनुसार बालिकाको शव नग्न अवस्थामा भेटिएको थियो भने घटनास्थलमा उनले लगाएका भित्री वस्त्रसहित अन्य कपडासमेत फेला परेका छन्।

घटनास्थलमा भेटिएको कपडाको अवस्था तथा शवको प्रकृतिका आधारमा बालिकामाथि जबर्जस्ती करणीपछि हत्या गरिएको हुन सक्ने आशंका गरिएको प्रहरीले जनाएको छ। घटनाको गम्भीर अनुसन्धान गरी दोषीलाई कडा कानुनी कारबाही गर्नुपर्ने माग स्थानीयवासीले अघि सारेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*