चमती–नयाँ बजारका जग्गा विकास आयोजना क्षेत्रको समस्या अध्ययन गर्न समिति गठन हुने

काठमाडौं । चमती, नयाँ बजारलगायत जग्गा विकास आयोजना क्षेत्रमा देखिएका समस्या समाधानका लागि काठमाडौं महानगरपालिकाले अध्ययन समिति गठन गर्ने भएको छ।
महानगरपालिकाको ५६औँ कार्यपालिका बैठकमा कार्यपालिका सदस्य मचाराजा महर्जन, ईश्वरमान डंगोल र रोजिना श्रेष्ठले फरक–फरक समयमा कायम गरिएको नदी तथा सडकको मापदण्डका कारण स्थानीय उपभोक्ता समस्यामा परेको विषय उठाएका थिए।
उक्त विषयमा महानगरपालिकाका कार्यवाहक प्रमुख एवं बैठकका अध्यक्ष सुनिता डंगोलले महानगरपालिकाले सञ्चालन गरेका सबै जग्गा विकास आयोजना समेटेर संयुक्त अध्ययन समिति गठन गरिने बताइन्।
समितिमा सुशासन समिति, भवन व्यवस्था समिति, विधायन समिति, प्रशासन विभाग, कानुन तथा मानव अधिकार विभाग र सहरी व्यवस्थापन विभागका प्रतिनिधि रहनेछन्।
कार्यवाहक प्रमुख डंगोलले स्थानीयको समस्या आफूले पनि सुनेको भन्दै प्रदेशलगायत विभिन्न मापदण्डका कारण प्रभावित भएका स्थानीयको समस्या समाधानका लागि कानुनी उपाय खोजिने बताइन्। उनका अनुसार अध्ययन समितिले भदौभित्र प्रतिवेदन बुझाउनेछ।











