बीमा अभिकर्तालाई प्राधिकरणको चेतावनीः भ्रामक प्रचार गरे कारबाही

८ भाद्र २०८३, सोमबार १३:१२

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीको व्यवसायमा प्रतिकूल असर पर्ने गरी गलत, भ्रामक तथा अतिरञ्जित प्रचारप्रसार नगर्न बीमा मध्यस्थकर्तालाई निर्देशन दिएको छ।

विभिन्न बीमा कम्पनी तथा संस्थाको व्यवसायमा असर पर्ने गरी बीमासम्बन्धी गलत तथा भ्रामक प्रचारप्रसार भइरहेको भन्दै प्राधिकरणमा उजुरी तथा गुनासो प्राप्त भएपछि प्राधिकरणले यस्तो निर्देशन दिएको हो।

प्राधिकरणले बीमा अभिकर्ता सम्बन्धी निर्देशन, २०६३ को दफा १९ अन्तर्गत रहेको बीमा अभिकर्ताको आचारसंहिताको अनुसूची–१ को २(ज) मा भ्रामक प्रचारप्रसार गर्न नहुने स्पष्ट व्यवस्था रहेको जनाएको छ।

उक्त व्यवस्थाअनुसार आफू बीमा अभिकर्ता नभएको कुनै पनि बीमकको बारेमा वा आफूले प्रतिनिधित्व गर्ने बीमकको क्षमताका सम्बन्धमा गलत वा अतिरञ्जित प्रचारप्रसार गर्न पाइँदैन।

प्राधिकरणले बीमा ऐन, २०७९ तथा प्रचलित आचारसंहिताविपरीत हुने गरी कुनै पनि किसिमका भ्रामक, अतिरञ्जित तथा अनधिकृत प्रचारप्रसार गर्ने वा गराउने कार्य तत्काल बन्द गर्न सम्पूर्ण इजाजतपत्रप्राप्त बीमा कम्पनी तथा सम्बन्धित बीमा मध्यस्थकर्तालाई निर्देशन दिएको छ।

त्यस्तै, आगामी दिनमा यस्ता गतिविधि भएको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही गरिने प्राधिकरणले स्पष्ट पारेको छ।

प्राधिकरणको यो निर्देशनले बीमा बजारमा कम्पनी तथा अभिकर्ताबीच प्रतिस्पर्धाका नाममा हुने गलत सूचना, अतिरञ्जित दाबी र अनधिकृत प्रचारप्रसारलाई नियन्त्रण गर्ने संकेत गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*