शेयर बजार अनिश्चितः अर्थमन्त्रीको अभिब्यक्तिले त्रसित लगानीकर्ता

८ भाद्र २०८३, सोमबार १५:०३

काठमाडौँ । शेयर बजार पछिल्लो समय निरन्तर दबाबमा देखिएको छ । बजारमा कारोबार गतिविधि भइरहे पनि खरिदतर्फको उत्साह कमजोर हुँदा सूचकहरू राताम्य बन्ने क्रम दोहोरिएको छ । केही महिनायता बजारले दिगो उकालो गति लिन नसक्नु केवल प्राविधिक उतारचढावको विषय नभई लगानीकर्ताको मनोविज्ञानमा गहिरिँदै गएको अन्योलको प्रतिबिम्ब बनेको छ । बढ्दो सतर्कता, नीतिगत अस्पष्टता, जोखिम लिन घट्दो तत्परता र बजारप्रतिको विश्वासमा आएको कमीले लगानीकर्तालाई आक्रामक खरिदभन्दा ‘पर्ख र हेर’को रणनीतितर्फ धकेलेको देखिन्छ ।

यहीबीच शेयर बजारमा लगानी भएको रकमको स्रोतसम्बन्धी सरकारी अनुसन्धान र सम्पत्ति शुद्धीकरणका विषयले लगानीकर्ताको मनोविज्ञानमा थप दबाब सिर्जना गरेको छ । ठूला लगानीकर्ता दिपेन्द्र अग्रवालको बैंक खाता रोक्का गरिएको घटनापछि आफ्नो लगानीको स्रोतबारे लगानीकर्ताबीच थप आशंका र त्रास देखिन थालेको छ । स्वच्छ रूपमा कारोबार गरिरहेका लगानीकर्तासमेत भोलि आफू अनुसन्धानको दायरामा पर्न सक्ने हो कि भन्ने चिन्ताबाट मुक्त हुन सकेका छैनन् । लगानीको स्रोत स्पष्ट देखाउन नसक्ने जोखिमको डर बढ्दै जाँदा नयाँ पूँजी बजारमा प्रवेश गराउनेभन्दा पहिले भएको सम्पत्ति सुरक्षित राख्ने मानसिकता बलियो हुँदै गएको छ । यसले जोखिम बहन गर्ने क्षमता घटाउँदा बजारमा खरिदको चाप कमजोर र बिक्रीको दबाब तुलनात्मक रूपमा बलियो बन्ने अवस्था सिर्जना गरेको छ ।

अर्कोतर्फ, अर्थमन्त्री स्वर्णिम वाग्लेले शेयर बजारमा तत्काल देखिने सुधारभन्दा दिगो सुधारलाई प्राथमिकता दिएको बताउँदै आएका छन् । दीर्घकालीन रूपमा बजारलाई व्यवस्थित, पारदर्शी र स्वस्थ बनाउने उद्देश्य आफैंमा सकारात्मक भए पनि त्यसको प्रभाव तत्काल लगानीकर्ताको मनोबलमा देखिन सकेको छैन । सरकार तथा नियामक निकायबाट पूँजी बजार विकास, लगानीकर्ताको विश्वास अभिवृद्धि र बजार सुधारका विषयमा सकारात्मक धारणा सार्वजनिक भइरहे पनि लगानीकर्ताले अब भाषणभन्दा कार्यान्वयन खोजिरहेका छन् । कुन नीति कहिले आउँछ, कसरी लागू हुन्छ, नियमनको सीमा के हुन्छ र स्वच्छ कारोबार गर्ने लगानीकर्ताको सुरक्षा कसरी सुनिश्चित गरिन्छ भन्ने प्रश्नको स्पष्ट जवाफ नआएसम्म आश्वासन मात्रले बजारको मनोवैज्ञानिक संकट हटाउन कठिन देखिन्छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.१३ अकंले घटेर २५९९.५८ बिन्दुमा कायम भएको छ । आज ३५० कम्पनीको ८५ लाख ७२ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २३ करोड ९७ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन १३ वटै उपसूचक राताम्य रहेको देखिएको छ । आज हाइड्रोपावर समूहको सर्वाधिक १.१९ प्रतिशतले शेयर मूल्य घटेको हो ।

सोमबार ४७ कम्पनीको शेयर मूल्य बढेको छ भने २२९ कम्पनीको घटेको छ । २ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*