मुक्तिनाथ म्युचुअल फण्ड–१ ले २.२० प्रतिशत नगद लाभांश दिने, भदौ २४ गते बूक क्लोज

१५ भाद्र २०८३, सोमबार ०७:४७

काठमाडौं । मुक्तिनाथ म्युचुअल फण्डअन्तर्गत सञ्चालित मुक्तिनाथ म्युचुअल फण्ड–१ ले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट इकाईधनीलाई २.२० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।

योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल लिमिटेडको २०८३ भदौ ११ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो। उक्त लाभांशमा करसमेत समावेश छ।

लाभांश वितरणका लागि भदौ २४ गते एक दिन इकाईधनी दर्ता किताब बन्द (बुक क्लोज) हुने क्यापिटलले जनाएको छ। त्यसैले भदौ २४ गतेभन्दा अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई तोकिएको समयभित्र कायम भएका इकाईधनीले मात्र नगद लाभांश प्राप्त गर्नेछन्।

यस्तै आफ्नो इकाई धितो राखेका इकाईधनीले लाभांश प्राप्त गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नो अब्जेक्सन लेटर पेश गर्नुपर्नेछ। उक्त पत्र पेश गरेपछि मात्र लाभांश वितरण गरिने क्यापिटलले जनाएको छ।

क्यापिटलले प्रचलित आयकर ऐनअनुसार लाभांश वितरण गर्दा स्रोतमा कर कट्टी हुने र कर दाखिला गर्दा लाभांश प्राप्त गर्ने व्यक्ति वा संस्थाको स्थायी लेखा नम्बर (प्यान) आवश्यक पर्ने भएकाले सबै इकाईधनीलाई आफ्नो हितग्राही खातामा प्यान अद्यावधिक गर्न आग्रह गरेको छ। मुक्तिनाथ म्युचुअल फण्ड–१ को कोष प्रवद्र्धक मुक्तिनाथ विकास बैंक र योजना व्यवस्थापक तथा डिपोजिटरी मुक्तिनाथ क्यापिटल लिमिटेड रहेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*