वार्षिकोत्सवमा सेवाको सन्देश दिँदै रिलायबल नेपाल लाइफ, चितवनमा बृहत् रक्तदान कार्यक्रम

१५ भाद्र २०८३, सोमबार १५:५५

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको ९औँ वार्षिकोत्सव तथा १०औँ स्थापना दिवसको अवसरमा चितवन रिजनद्वारा आयोजित बृहत् रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

चितवन रिजनअन्तर्गतका भण्डारा, टाँडी, हाकिमचोक, नारायणगढ तथा गैँडाकोट शाखाका कर्मचारीहरू, एजेन्सी म्यानेजरहरू, अभिकर्ताहरू, बीमितहरू लगायतको उत्साहजनक सहभागितामा सम्पन्न उक्त कार्यक्रममा करिब ४० जनाले रक्तदान गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखासँगको समन्वयमा आयोजना गरिएको यस कार्यक्रमको संयोजन चितवन रिजनका रिजनल हेड राजेन्द्र पौडेलले गरेका थिए ।

देशमा विद्यमान विषम परिस्थितिलाई मध्यनजर गर्दै हालैका बाढी तथा विपद्बाट प्रभावित घाइतेहरूको उपचारका क्रममा देखिएको रगतको अभावलाई केही हदसम्म पूर्ति गर्ने तथा आगामी दिनमा हुन सक्ने आकस्मिक घटनाहरूमा सहज रूपमा रगत उपलब्ध गराउने पवित्र उद्देश्यका साथ यस कार्यक्रमको आयोजना गरिएको हो।

“रक्तदान, जीवनदान” भन्ने मूल नारालाई आत्मसात् गर्दै रिलायबल नेपाल लाइफले देशको वर्तमान परिस्थितिलाई ध्यानमा राखी अन्य हर्षोल्लासका कार्यक्रमहरूलाई प्राथमिकता नदिई आफ्नो वार्षिकोत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै समयसापेक्ष र सेवामूलक कार्यक्रममार्फत मनाएको छ।

यसै क्रममा कम्पनीले बाल अस्पताल निर्माणको लागी ५० लाख नगद तथा प्रधानमन्त्री दैवीप्रकोप तथा उद्दार कोषमा समेत कर्मचारीको मासिक तलबबाट निश्चित रकम कट्टा गरि सहयोग गरेको छ । त्यसैगरी देशभर रहेका कम्पनीको १३१ वटै शाखा कार्यालयहरूले पनि आ–आफ्नो क्षेत्र र स्तरबाट विभिन्न सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरू सञ्चालन गरेका छन्।

यस विशेष रक्तदान कार्यक्रममा हाकिमचोक शाखाका शाखा प्रमुख राजकुमार दाहाल, नारायणगढ शाखाका शाखा प्रमुख रमेश आचार्य, गैँडाकोट शाखाका शाखा प्रमुख नारायण पौडेल, टाँडी शाखाका शाखा प्रमुख कुलराज शर्मा तथा भण्डारा शाखाका शाखा प्रमुख हेमराज बस्नेत लगायत मार्केटिङ म्यानेजर, अन्डरराइटिङ प्रमुख, कर्मचारी तथा विभिन्न तहका एजेन्सी म्यानेजरहरुको उल्लेखनीय तथा उत्साहजनक उपस्थिति रहेको थियो।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो व्यवसायिक यात्रासँगै मानवीय सेवा, सामाजिक उत्तरदायित्व र समुदायप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तर प्राथमिकतामा राख्दै आएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*