रिलायबल नेपाल लाइफको ९औँ वार्षिकोत्सव: उत्सवभन्दा सेवामा जोड, बाढीपीडितलाई ५१ लाख सहयोग

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले स्थापनाको ९औँ वर्ष पूरा गरेको अवसरलाई औपचारिक उत्सवभन्दा सामाजिक उत्तरदायित्व, सेवा र समुदायप्रतिको प्रतिबद्धता अभिव्यक्त गर्ने अवसरका रूपमा मनाएको छ । कम्पनीले आफ्नो ९औँ वार्षिकोत्सवको अवसरमा देशभर विभिन्न सामाजिक तथा समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गर्दै विपद्मा परेका नागरिकदेखि स्वास्थ्य, शिक्षा, वातावरण र जनचेतनासम्मका क्षेत्रमा योगदान पुर्याएको जनाएको छ ।
भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवालगायत देशका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएकोप्रति रिलायबल नेपाल लाइफले गहिरो दुःख व्यक्त गरेको छ । प्राकृतिक विपद्मा परी ज्यान गुमाउनुहुने सम्पूर्णप्रति कम्पनीले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ । साथै बाढी तथा अन्य विपद्का कारण घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि कम्पनीले गरेको छ ।
विपद्का कारण सिर्जिएको यस दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै कम्पनीले यस वर्ष आफ्नो वार्षिकोत्सवलाई विगतका जस्तो औपचारिक समारोह र उत्सवमा सीमित नगरी सामाजिक उत्तरदायित्व र मानवीय सेवामा केन्द्रित गरेको हो । कम्पनीका अनुसार वार्षिकोत्सवको अवसरलाई समुदायसँग जोडिने र आवश्यकतामा रहेका नागरिकलाई सहयोग गर्ने अवसरका रूपमा उपयोग गर्दै विभिन्न जिल्लामा सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गरिएको छ ।
बाढीपीडितको सहयोगका लागि कम्पनीले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा कम्पनी तथा कम्पनीमा कार्यरत कर्मचारीहरूको तीन दिनको तलबसहित कुल ५१ लाख सहयोग प्रदान गरेको छ । विपद्को कठिन अवस्थामा प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सहयोग पुर्याउने उद्देश्यले उक्त योगदान गरेको हो ।
कम्पनीले बाढी तथा दैवीप्रकोपमा मात्र नभई स्वास्थ्य, शिक्षा, वातावरण, रक्तदान तथा बीमा सचेतनालगायतका क्षेत्रमा समेत निरन्तर सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । २०८२ सालको श्रावणदेखि हालसम्म दैवीप्रकोपलगायत विभिन्न सामाजिक कार्यमा कम्पनीले १ करोड १३ लाख खर्च गरिसकेको छ ।
कम्पनीले आगामी दिनमा पनि आफ्ना व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई थप प्रभावकारी र दिगो बनाउँदै समुदाय तथा राष्ट्रको हितमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।









