निर्जीवन बीमा कम्पनीहरूको लगानी झण्डै ७८ अर्ब, कुन कम्पनीको हिस्सा कति? (तथ्यांकसहित)

काठमाडौं । सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म कम्पनीहरूले ७७ अर्ब ९६ करोड ४ लाख रुपैयाँ कुल लगानी गरेका छन्। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको ७९ अर्ब ९३ कराड ९५ लाख रुपैयाँको तुलनामा समग्र लगानी २.४८ प्रतिशतले घटेको हो।
लगानीका आधारमा सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। यस कम्पनीले असार मसान्तसम्म १८ अर्ब २५ करोड ७ लाख रुपैयाँ लगानी गरेको छ यद्यपि अघिल्लो वर्षको तुलनामा यसको लगानीमा १.०५ प्रतिशतले कमी आएको छ। अघिल्लो वर्ष कम्पनीले १८ अर्ब ४४ करोड ३८ लाख रुपैयाँ लगानी गरेको थियो।
दोस्रो स्थानमा रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ८ अर्ब ३ करोड ६५ लाख रुपैयाँ लगानी गरेको छ भने नेको इन्स्योरेन्सले ६ अर्ब १९ करोड ९१ लाख रुपैयाँ लगानी गरेको छ। त्यस्तै सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) को लगानी ५ अर्ब ८५ करोड ७२ लाख रुपैयाँ र नेपाल इन्स्योरेन्सको लगानी ५ अर्ब ५० करोड ५४ लाख रुपैयाँ रहेको छ।

लगानी विस्तारमा नेपाल इन्स्योरेन्स सबैभन्दा आक्रामक देखिएको छ। यस कम्पनीले आफ्नो लगानी २३.८७ प्रतिशतले वृद्धि गरेको छ। हिमालयन एभरेष्ट इन्स्योरेन्सले पनि ५ अर्ब ३३ करोड ५८ लाख रुपैयाँ लगानी गर्दै आफ्नो स्थान सुरक्षित गरेको छ।
अन्य कम्पनीहरूमा शिखर इन्स्योरेन्सले ४ अर्ब ७६ करोड १८ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले ४ अर्ब ५० करोड ८८ लाख रुपैयाँ र आईजीआई प्रुडेन्सियलले ४ अर्ब ४४ करोड ९८ लाख रुपैयाँ लगानी गरेका छन्। ओरिएन्टल इन्स्योरेन्सले आफ्नो लगानी १६.२३ प्रतिशतले बढाएर ४ अर्ब १३ करोड ९ लाख रुपैयाँ पुर्याएको छ भने सानिमा जिआइसी इन्स्योरेन्सको लगानी ३ अर्ब ६५ करोड ४५ लाख रुपैयाँ रहेको छ।
विवरण अनुसार एनएलजी इन्स्योरेन्सको लगानी ३ अर्ब ६ करोड ३७ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्सको २ अर्ब ९१ करोड ७२ लाख रुपैयाँ रहेको छ। सूचीको अन्तिममा रहेको प्रभु इन्स्योरेन्सले १ अर्ब २८ करोड ८६ लाख रुपैयाँ लगानी गरेको छ। समीक्षा अवधिमा ७ वटा कम्पनीको लगानीमा वृद्धि देखिएको छ भने ७ वटै कम्पनीको लगानीमा गिरावट देखिएको छ।









