सर्भेयर संघका महासचिव नविन भट्टसँग सोधियो तीनदिने स्पष्टीकरण

काठमाडौं । नेपाल बीमा सर्भेयर संघ (निसा) का महासचिव नविन भट्टलाई संघको निर्णयविपरीत गतिविधि गरेको भन्दै ३ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ।
संघका सभापति ऋषि कोइरालाले भट्टलाई पत्र पठाउँदै सभापतिलाई जानकारी नदिई संघको मूल्य, मान्यता र विधानविपरीत गतिविधि गरेको भन्दै स्पष्टीकरण मागेका हुन्। संघको पछिल्लो कार्यसमिति बैठकमा भएका निर्णय तथा यसअघिको बैठकले महासचिवलाई दिएको जिम्मेवारीविपरीतका गतिविधि भएको पत्रमा उल्लेख छ।
संघको विधानको दफा १२(क) उल्लङ्घन भएको जनाउँदै त्यस्तो गतिविधि कसको प्रभाव वा दबाबमा र कसरी भएको हो भन्ने विषयमा स्पष्ट पार्न भनिएको छ।
साथै संस्थापक सदस्य, सल्लाहकार तथा सम्पूर्ण सदस्यलाई आमन्त्रण गरी भदौभित्र कार्यसमितिको आकस्मिक बैठक बोलाउन निर्देशन दिइएको छ। संघको एघारौं बैठक बोलाउने जिम्मेवारीबाहेक महासचिवको अन्य जिम्मेवारी भने आगामी कार्यसमितिको निर्णय नहुँदासम्मका लागि निलम्बन गरिएको पनि उक्त पत्रमा उल्लेख गरिएको छ।










