बिवाईडीको ब्रेकमै गम्भीर त्रुटि, १ लाख ८३ हजारभन्दा बढी गाडी फिर्ता

८ आश्विन २०८३, बिहीबार १६:११

काठमाडौं । चिनियाँ विद्युतीय सवारीसाधन निर्माता कम्पनी बीवाईडीको ब्रेक र स्टेरिङमा गम्भीर समस्या देखिएको छ । ब्रेकसँग सम्बन्धित उपकरणमा त्रुटि भेटिएपछि चीनको बजारबाट बिवाईडीका एक लाख ८३ हजारभन्दा बढी गाडी फिर्ता बोलाउने निर्णय गरिएको हो ।

पछिल्लो घटनाले तीव्र गतिमा विश्व बजार विस्तार गरिरहेको बिवाईडीका गाडीको उत्पादन गुणस्तर र सुरक्षा मापदण्डमाथि पुनः गम्भीर प्रश्न खडा गरेको छ। चीनको बजार नियमनसम्बन्धी सरकारी निकायले बिवाइडीका क्यूइन र ताङ मोडलका ठूलो संख्याका गाडीमा समस्या पहिचान गरेपछि फिर्ता बोलाउने प्रक्रिया अघि बढाएको हो। सन् २०१४ देखि २०२२ सम्म उत्पादन भएका ती गाडीमा ब्रेकको पेडल रोक्ने उपकरणमा उत्पादनकै क्रममा कमजोरी रहेको पाइएको छ।

नियामक निकायका अनुसार उक्त उपकरण समय बित्दै जाँदा च्यातिन वा आफ्नो स्थानबाट छुट्टिन सक्ने जोखिम रहेको छ। उपकरणमा यस्तो समस्या आएमा चालकले ब्रेक नथिचेको अवस्थामा पनि गाडीको ब्रेक बत्ती बलिरहन सक्छ। यसले सडकमा पछाडिबाट आइरहेका अन्य सवारीसाधनका चालकलाई अगाडिको गाडीले ब्रेक लगाइरहेको गलत संकेत दिन सक्छ। फलस्वरूप अनावश्यक रूपमा ब्रेक लगाउने, गति घटाउने वा अचानक प्रतिक्रिया दिने अवस्था सिर्जना हुन सक्ने भएकाले यसलाई सडक सुरक्षासँग प्रत्यक्ष जोडिएको विषयका रूपमा हेरिएको छ।

समस्या गाडी प्रयोगका क्रममा मात्र उत्पन्न भएको नभई उत्पादन प्रक्रियामै कमजोरी रहेको तथ्यले बिवाइडीको गुणस्तर नियन्त्रण प्रणालीमाथि थप प्रश्न उठाएको छ। ठूलो संख्यामा उत्पादन गरिएका सवारीसाधनमा सुरक्षा प्रणालीसँग सम्बन्धित एउटा उपकरणमै कमजोरी भेटिनुले कम्पनीले उत्पादनदेखि परीक्षण र गुणस्तर जाँचसम्म अपनाउने प्रक्रियामाथि प्रश्न उठ्ने अवस्था सिर्जना गरेको हो।

बिवाईडीका गाडी फिर्ता बोलाइएको यो घटना एक्लो घटना पनि होइन। पछिल्लो समय चिनियाँ सवारीसाधन उद्योगमा उत्पादनसम्बन्धी कमजोरी भेटिएपछि ठूलो संख्यामा गाडी फिर्ता बोलाउने क्रम बढिरहेको छ। ती गाडीमा आपत्कालीन अवस्थामा ढोका खोल्न प्रयोग हुने यान्त्रिक प्रणालीको दृश्यता तथा सञ्चालनसँग सम्बन्धित समस्या भेटिएको थियो।

पछिल्लो समय बिवाइडीका विभिन्न मोडलसँग सम्बन्धित गाडी फिर्ता बोलाउने घटनाहरू सार्वजनिक हुँदै आएका छन्। उत्पादन त्रुटि, सुरक्षा जोखिम तथा अन्य प्राविधिक समस्याका कारण गाडी फिर्ता बोलाउनुपर्ने घटनाले कम्पनीको ब्रान्ड छविमाथि समेत असर पार्न सक्ने देखिन्छ। एउटै कम्पनीका गाडीमा पटक–पटक विभिन्न प्रकारका कमजोरी देखिन थालेपछि उपभोक्ताले गाडीको प्रविधि र मूल्यसँगै त्यसको दीर्घकालीन विश्वसनीयता र सुरक्षा पनि प्रश्न गर्न थालेका छन् ।

नेपालमा भने पछिल्लो फिर्ता बोलाउने घटनाले तत्काल प्रत्यक्ष प्रभाव पार्ने अवस्था देखिँदैन। बिवाईडीका सम्बन्धित मोडलहरू नेपालमा बिक्री वितरण नभएकाले चीनमा फिर्ता बोलाइएका ती गाडीको समस्या नेपाली उपभोक्तासम्म सोझै जोडिँदैन। तर, पछिल्ला घटनाले बिवाईडी ब्रान्डमाथि नै गम्भीर प्रश्न उब्जाएको छ ।

सम्बन्धीत समाचारः

बीवाईडी एटो ३ मा ब्रेक नलाग्दा र स्टेयरिङ लक हुँदा भयानक दुर्घटना, यही ब्रान्डमा बारम्बार समस्या किन?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*