राष्ट्रिय वाणिज्य बैंकले असोज २९ गतेदेखि ३ अर्बको ऋणपत्र निष्काशन गर्दै

२० आश्विन २०८३, मंगलवार ०९:५५

काठमाडौँ ।  राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले असोज २९ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले ७ वर्ष अवधिको वार्षिक ६ प्रतिशत ब्याजदर प्रदान गर्ने ‘६ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८९’ निष्काशन गर्न लागेको हो।

बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित दरका ३० लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो। कुल निष्काशनमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरका १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिनेछ। बाँकी ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरका १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि छुट्याइएको छ।

सर्वसाधारणका लागि छुट्याइएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि आरक्षित गरिएको छ। ऋणपत्रमा लगानी गर्न इच्छुकले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा निष्काशित सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।

ऋणपत्रको निष्काशन तथा बिक्री खुला असोज २९ गतेदेखि हुनेछ। निष्काशन छिटोमा कात्तिक १० गते बन्द हुनेछ भने सो अवधिसम्म मागअनुसार आवेदन नपरेमा ढिलोमा कात्तिक १२ गतेसम्म बिक्री खुला रहनेछ।

ऋणपत्रको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत पनि सी–आस्बा प्रयोग गरी आवेदन दिन सकिनेछ।

ऋणपत्र निष्काशनका लागि गरिएको क्रेडिट रेटिङमा केयर रेटिङ्ग्स नेपालले राष्ट्रिय वाणिज्य बैंकलाई ‘केयरएनपी सिंगल ए प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ। उक्त रेटिङले बैंकले समयमा वित्तीय दायित्व पूरा गर्न पर्याप्त रूपमा सुरक्षित रहेको संकेत गर्छ। ऋणपत्रबाट प्राप्त ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम र दोस्रो अर्धवार्षिक अवधि समाप्त भएपछि कर कट्टा गरी भुक्तानी गरिने बैंकले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*