संवेदनशील सूचना चुहाउने जोसुकैलाई कानुनी दायरामा ल्याइने गृहमन्त्री गुरुङको चेतावनी

२० आश्विन २०८३, मंगलवार १०:४३

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील तथा गोप्य सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउने जोसुकैलाई कानुनी दायरामा ल्याइने चेतावनी दिएका छन् । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई संवेदनशील सूचना चुहावटको आरोपमा निलम्बन गरिएपछि गृहमन्त्री गुरुङले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले गृह मन्त्रालय र मातहतका निकायबाट हुने सूचना चुहावटको प्रवृत्तिलाई आफूले लामो समयदेखि नियालिरहेको बताएका छन् ।

राज्यका संवेदनशील सूचना कसैको निजी सम्पत्ति नभई सार्वजनिक जिम्मेवारी भएको उल्लेख गर्दै गुरुङले पदका कारण सूचनामा पहुँच प्राप्त भए पनि त्यसको दुरुपयोग गर्ने अधिकार कसैलाई नभएको स्पष्ट पारेका छन् ।

‘यहाँ प्राप्त हुने सानोभन्दा सानो सूचना, सुराक वा गुप्त जानकारीले समेत अपराध रोक्न, अनुसन्धान अघि बढाउन वा भविष्यमा कुनै गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न निर्णायक भूमिका खेल्छ,’ उनले भनेका छन् ।

राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र संगठनप्रति विश्वासघात गर्ने प्रवृत्ति सह्य नहुने गृहमन्त्री गुरुङको भनाइ छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*