अर्बपति विनोद चौधरी नेपाली कांग्रेसमा सक्रिय, बने उपसभापति

२६ आश्विन २०८३, सोमबार १५:५५

काठमाडौं । उद्योग, व्यापार र अर्थजगतमा आफ्नो छुट्टै पहिचान बनाएका नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरी अब नेपाली कांग्रेसको नेतृत्वमा थप शक्तिशाली भूमिकामा पुगेका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट चौधरी केन्द्रीय उपसभापतिमा निर्वाचित भएका छन्। कांग्रेसको समावेशी कोटाबाट उपसभापति बनेका चौधरीले १ हजार ७ सय ४५ मत प्राप्त गरेका हुन्।

व्यापारिक साम्राज्य विस्तारसँगै राजनीतिमा सक्रिय हुँदै आएका चौधरीको यो जितलाई कांग्रेसभित्र उनको बढ्दो राजनीतिक प्रभावसँग जोडेर हेरिएको छ। कांग्रेस प्रवेश गरेको करिब नौ वर्षमै उनी पार्टीको उपसभापतिजस्तो महत्त्वपूर्ण पदमा पुग्न सफल भएका छन्। दशकौँदेखि पार्टी राजनीतिमा सक्रिय रहेका नेताहरूसँग प्रतिस्पर्धा गर्दै नेतृत्वको दोस्रो मर्यादाक्रममा पुग्नु उनको राजनीतिक यात्राको उल्लेखनीय घटनाक्रम बनेको छ।

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार आइतबार उपसभापति खुला, उपसभापति समावेशी तथा महामन्त्रीका खुला र महिला पदको मतगणना सम्पन्न भएको थियो। समावेशी उपसभापति पदमा चौधरीले पाँच प्रतिस्पर्धीमध्ये अन्य उम्मेदवारलाई पछि पार्दै जित हासिल गरेका हुन्। सोही पदमा जीवन परियारले १ हजार ६ सय ५८, फरमुल्लाह मन्सुरले १ हजार १ सय ४४, सीता गुरुङले १ हजार १ सय १२ र रञ्जित कर्णले ५ सय ६२ मत प्राप्त गरेका छन्।

उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी ३ हजार ७ सय ३५ मतसहित निर्वाचित भएका छन् भने मधु आचार्यले २ हजार ३ सय ४२ मत प्राप्त गर्दै जित हासिल गरेका छन्। गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका सुरेन्द्रराज पाण्डे भने १ हजार ६ सय ७३ मतमा सीमित हुँदै पराजित भएका छन्। पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा प्राडा चन्द्रमोहन यादवले ७ सय ६० मत प्राप्त गरेका छन्।

महामन्त्री खुलातर्फ प्रदीप पौडेलले ४ हजार १ सय ९४ मत प्राप्त गर्दै सर्वाधिक मतसहित जित हासिल गरेका छन्। उदयशमशेर राणा २ हजार ३ सय १० मतसहित निर्वाचित भएका छन्। कांग्रेसको व्यवस्थाअनुसार महामन्त्री खुलातर्फ दुई जना निर्वाचित हुने व्यवस्था छ। महिला महामन्त्री पदमा डा. डिला संग्रौला पन्तले ३ हजार १ सय १८ मत प्राप्त गर्दै विजय हासिल गरेकी छन्।

चौधरीको राजनीतिक यात्रा भने व्यावसायिक सफलतासँगै अघि बढेको देखिन्छ। विक्रम संवत् २०६४ को संविधानसभा निर्वाचनमा नेकपा एमालेबाट समानुपातिक सभासद बनेका उनी पछि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए। २०७४ सालमा कांग्रेसमा प्रवेश गरेका चौधरी २०७८ सालमा सम्पन्न पार्टीको १४औँ महाधिवेशनबाट थारू क्लस्टरअन्तर्गत केन्द्रीय सदस्य निर्वाचित भएका थिए। त्यसपछि २०७९ सालको आमनिर्वाचनमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–१ बाट प्रत्यक्ष निर्वाचित हुँदै प्रतिनिधिसभा सदस्य बनेका थिए।

राजनीतिमा प्रवेश गर्नुअघि नै उद्योग र व्यापार क्षेत्रमा स्थापित चौधरीको व्यावसायिक उपस्थिति नेपालमा मात्र सीमित छैन। चौधरी समूहअन्तर्गत विभिन्न उद्योग, कलकारखाना तथा व्यावसायिक गतिविधि सञ्चालनमा छन्। औद्योगिक क्षेत्रमा बनाएको पहिचानलाई राजनीतिक नेतृत्वसँग जोड्दै आएका चौधरीका लागि उपसभापतिमा भएको यो निर्वाचित यात्राले कांग्रेसभित्र उनको जिम्मेवारी र प्रभावको दायरा थप फराकिलो बनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*