अर्थमन्त्री स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारतमा

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि नयाँदिल्ली पुगेका छन्। बिहीबार बिहान १० बजे एयर इन्डियाको नियमित उडानमार्फत भारतको राजधानी नयाँदिल्ली पुगेका हुन्।
दुई सदस्यीय भ्रमण टोलीमा अर्थमन्त्री वाग्लेसँगै उनका प्रमुख स्वकीय सचिव नवीन ढुङ्गाना सहभागी छन्। नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा भारतका लागि नेपाली कार्यवाहक राजदूत सुरेन्द्र थापाले अर्थमन्त्री वाग्लेलाई स्वागत गरेका थिए।
भारतीय टेलिभिजन च्यानलद्वारा आयोजित ‘वर्ल्ड समिट २०२६’ को उच्चस्तरीय प्यानलमा अतिथि तथा वक्ताका रूपमा सहभागी हुन अर्थमन्त्री वाग्ले भारत गएका हुन्। भ्रमणका क्रममा उनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको आर्थिक दृष्टिकोण प्रस्तुत गर्ने अवसर पाउनेछन्।
अर्थमन्त्री वाग्ले बिहीबार साँझ समिटअन्तर्गत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री डा. एस. जयशंकरको विशेष सम्बोधन सत्रमा अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ।
त्यस्तै, शुक्रबार बिहान सवा ११ बजे समिटअन्तर्गतको आफ्नो सत्रमा सहभागी भई उनले सम्बोधन गर्ने कार्यतालिका रहेको छ। तीन दिने भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेको सहभागितालाई नेपाल र भारतबीचको आर्थिक सम्बन्ध तथा क्षेत्रीय आर्थिक सहकार्यका सन्दर्भमा समेत चासोका साथ हेरिएको छ।











