दशैंपछि खुलेको शेयर बजार राताम्य: सम्पत्तिको स्रोत खोज्दा आत्तिए लगानिकर्ता, के होला आगामी यात्रा?

९ कार्तिक २०८३, सोमबार १५:०४

काठमाडौं । दसैँको लामो बिदापछि खुलेको शेयर बजार आज ओरालो लागेको छ। दसैँअघि लगातार सात कारोबार दिन बढेर बन्द भएको बजार दसैँपछिको पहिलो कारोबार दिनमै राताम्मे बनेको हो। दसैँपछि बजारमा सुधार आउने अपेक्षा गरेका लगानीकर्ता बजार घटेपछि निराश भएका छन्। पछिल्लो समय सामाजिक सञ्जालमा फैलिएका विभिन्न हल्ला तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्थाले लगानीकर्ताको मनोविज्ञानमा प्रभाव पारेको देखिएको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्था र ठूला धितोपत्र कारोबारको विवरण राख्नुपर्ने प्रावधानले पनि लगानीकर्तामाझ चासो र आशंका बढाएको छ। नयाँ निर्देशनअनुसार कुनै व्यक्ति वा संस्थाले एकैपटक वा पटक–पटक गरी एक दिनमा १० लाख रुपैयाँ वा सोभन्दा बढीको धितोपत्र कारोबार गरेमा सम्बन्धित सूचक संस्थाले कारोबार भएको मितिले १५ दिनभित्र वित्तीय जानकारी इकाईले तोकेको प्रणालीमार्फत विवरण उपलब्ध गराउनुपर्ने व्यवस्था छ। कारोबारको रकम, हिसाबकिताब तथा रकमको स्रोतसम्बन्धी अभिलेख राख्नुपर्ने प्रावधानले कारोबारमा पारदर्शिता बढाउने उद्देश्य राखे पनि यसको कार्यान्वयन र लगानीकर्ताले बुझ्ने तरिकाले बजारमा मनोवैज्ञानिक प्रभाव पारेको देखिन्छ।

नेपाल सरकार, नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्ड सक्रिय रहेकाले बजारमा सकारात्मक सुधार आउने र दसैँपछि शेयर बजार बढ्ने अपेक्षा लगानीकर्ताले गरेका थिए। तर, बजारको चाल अपेक्षाविपरीत देखिएको छ। पछिल्लो समय सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम कडा बन्दै जाँदा शेयर बजारमा हुने सम्भावित चलखेल नियन्त्रण गर्न नियामक निकाय सक्रिय भएको छ। यसले विशेषगरी ठूला लगानीकर्तामाझ थप सतर्कता र आशंका बढाएको देखिन्छ।

बजार घट्नुका साथै कारोबार रकमसमेत अपेक्षित रूपमा बढ्न सकेको छैन। नियामकीय व्यवस्थाबारे स्पष्ट बुझाइ नहुँदा कतिपय लगानीकर्ता बजारमा लगानी गर्न हिचकिचाइरहेका छन् भने केहीले लगानीबाट बाहिरिने रणनीति अपनाएको देखिन्छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ४.३४ अङ्कले घटेर २ हजार ६२९.८२ बिन्दुमा कायम भएको छ। आज ३४१ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा कुल ४ अर्ब रुपैयाँबराबरको कारोबार भएको छ।

आज कारोबार भएका १३ उपसूचकमध्ये १० वटा उपसूचक राताम्मे भएका छन् भने चारवटा उपसूचकमा सुधार देखिएको छ। हाइड्रोपावर, व्यापार र म्युचुअल फन्ड समूहका सेयर मूल्यमा वृद्धि देखिएको छ।

आज ९९ कम्पनीको सेयर मूल्य बढेको छ भने १७१ कम्पनीको सेयर मूल्य घटेको छ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*