नागढुंगा सुरुङमार्गमा कात्तिक १५ देखि टोल शुल्क, कुन सवारीले कति तिर्नुपर्छ ?

काठमाडौं । नागढुंगा सुरुङमार्ग भएर यात्रा गर्ने सवारीसाधनले आगामी कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर तिर्नुपर्ने भएको छ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै सुरुङमार्ग प्रयोग गरेबापत शुल्क संकलन सुरु गरिने जनाएको हो ।
सडक बोर्ड नेपालको कार्यकारी समितिले गत असोज १२ गते गरेको निर्णय र नेपाल राजपत्रमा प्रकाशित सूचनाका आधारमा टोल शुल्क लागू गर्न लागिएको हो । नयाँ व्यवस्थाअनुसार काठमाडौं प्रवेश गर्ने र काठमाडौं बाहिरिने सवारीसाधनका लागि फरक–फरक दर तोकिएको छ ।
आयोजनाले सवारीसाधनलाई चार वर्गमा विभाजन गरी शुल्क निर्धारण गरेको छ ।
कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौं बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ ।
मिनीबस तथा मिनी टिपर–ट्रकका लागि काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तोकिएको छ ।
त्यस्तै, सिंगल रियर एक्सल भएका बस तथा ट्रकले काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ सडक उपभोग दस्तुर बुझाउनुपर्नेछ ।
भारी सवारीसाधनतर्फ मल्टी एक्सल ट्रक तथा अन्य सवारीसाधन र भारी उपकरणका लागि काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । यस्ता सवारीसाधन काठमाडौं बाहिरिँदा भने २५० रुपैयाँ तिर्नुपर्नेछ ।











