नबिल बैंकको लाभांश लिन बाँकी छ ? यी विवरण मिलाउन बैंकको आग्रह

१२ कार्तिक २०८३, बिहीबार १०:०४

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई नगद लाभांश भुक्तानी गरिरहेको जनाएको छ । बैंकको ४२औँ वार्षिक साधारण सभाबाट पारित लाभांशमध्ये १०.८० प्रतिशत नगद लाभांश वितरण भइरहेको हो ।

तर, विभिन्न प्राविधिक तथा विवरणसम्बन्धी समस्या भएका केही शेयरधनीले भने अझै नगद लाभांश प्राप्त गर्न सकेका छैनन् । बैंकको असोज २२ गते सम्पन्न वार्षिक साधारण सभाले शेयरधनीलाई चुक्ता पुँजीको १०.८० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर प्रदान गर्ने प्रस्ताव पारित गरेको थियो । करसमेत समावेश गरी कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने निर्णय भएको बैंकले जनाएको छ । साधारण सभाबाट प्रस्ताव पारित भएकै दिनदेखि नगद लाभांश भुक्तानी सुरु गरिएको थियो ।

बैंकका अनुसार केही शेयरधनीको शेयर अभौतिकीकरण नभएको, डिम्याट खातामा उल्लेख गरिएको बैंक खाताको विवरण नमिलेको, शेयर धितोमा रहेको तथा अन्य कारणले नगद लाभांश भुक्तानीमा समस्या देखिएको छ ।

लाभांश प्राप्त गर्न नसकेका शेयरधनीलाई आवश्यक विवरण तथा प्रक्रिया पूरा गर्न बैंकले आग्रह गरेको छ । यसका लागि बैंकको शेयर रजिस्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड, नक्साल, काठमाडौंमा सम्पर्क गर्न सकिनेछ ।

नगद लाभांश भुक्तानीसम्बन्धी जानकारी तथा सहायताका लागि नेहा प्रजापतिलाई ९८०२३२२८८५ नम्बरमा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ । कार्यालयका ४५११६०४ र ४५११७३३ नम्बरमा पनि सम्पर्क गर्न सकिनेछ । ४५११७३३ नम्बरमा सम्पर्क गर्दा एक्सटेन्सन नम्बर १४३ प्रयोग गर्नुपर्नेछ ।

यसैगरी, बैंकले यसअघि वितरण गरेका नगद लाभांशसमेत कतिपय शेयरधनी वा उनीहरूका हकवालाले दाबी नगरेको जनाएको छ । साविक युनाइटेड फाइनान्स लिमिटेड र साविक नेपाल बङ्गलादेश बैंक लिमिटेडको समयदेखिका वितरण हुन बाँकी लाभांशसमेत लिन बाँकी रहेकाले सम्बन्धित शेयरधनीलाई शेयर रजिस्ट्रारको कार्यालयमा सम्पर्क गरी रकम बुझ्न आग्रह गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*