चिरख्वा हाइड्रोपावरको २ लाख ४८ हजार कित्ता शेयर बिक्रीमा आउने

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडका आधारभूत शेयरधनी गेल्जे लामाले आफ्नो स्वामित्वमा रहेको २ लाख ४८ हजार ५६ कित्ता शेयर बिक्री गर्ने भएका छन्। उनले आगामी तीन महिनाभित्र उक्त शेयर बिक्री गर्न चाहेको जानकारी कम्पनीलाई गराएका हुन्।
कम्पनीका अनुसार लामाको शेयर बिक्री गर्ने आशयसम्बन्धी निवेदन कात्तिक १७ गते प्राप्त भएको हो। धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ८४ को उपदफा (१) तथा नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार आधारभूत शेयरधनीले आफ्नो स्वामित्वमा रहेको १५ प्रतिशत वा सोभन्दा बढी शेयर बिक्री गर्नुअघि जानकारी गराउनुपर्ने व्यवस्था छ।
उक्त व्यवस्थाअनुसार शेयर बिक्री गर्न चाहने आधारभूत शेयरधनीले बिक्रीको पाँच कारोबार दिनअघि नै सम्बन्धित कम्पनीलाई जानकारी दिनुपर्छ। सोही प्रावधानअनुसार लामाले शेयर बिक्री गर्ने आफ्नो मनसायबारे कम्पनीलाई जानकारी गराएका हुन्।











