नेपालमा जन्मेका तीन जना बने अमेरिकामा सांसद, को को हुन् ?

१८ कार्तिक २०८३, बुधबार २०:४८

काठमाडौं । अमेरिकामा सम्पन्न सन् २०२६ को आमनिर्वाचनमा नेपालमा जन्मिएका तीन नेपाली अमेरिकीले विभिन्न राज्यका संसदमा निर्वाचित भएका छन्। न्यु ह्याम्पसायरको प्रतिनिधिसभामा विश्वबहादुर शाह, न्युयोर्क राज्य संसदमा सराहना श्रेष्ठ र मेरिल्याण्डको हाउस अफ डेलिगेट्समा डा. ह्यारी भण्डारी निर्वाचित भएका हुन्।

नोभेम्बर ३ मा सम्पन्न आमनिर्वाचनको अनौपचारिक नतिजाअनुसार शाह पहिलोपटक न्यु ह्याम्पसायरको प्रतिनिधिसभामा निर्वाचित भएका छन् भने श्रेष्ठ र भण्डारीले आ–आफ्नो राज्य संसदमा तेस्रो कार्यकालका लागि जित हासिल गरेका छन्। तीनै जना डेमोक्रेटिक पार्टीका उम्मेदवार हुन्।

म्यानचेस्टर निवासी शाह हिल्सबरो काउन्टीको जिल्ला ४१ बाट न्यु ह्याम्पसायरको ४०० सदस्यीय प्रतिनिधिसभामा निर्वाचित भएका हुन्। तीन सदस्यीय निर्वाचन क्षेत्रमा उनले ५ हजार ७२६ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका छन्। उनका डेमोक्रेटिक सहकर्मी लिली एम. फसले ६ हजार ३१६ र टम स्टुअर्टले ६ हजार २४१ मत प्राप्त गरेका छन्। निकटतम रिपब्लिकन प्रतिस्पर्धी रायन हेबर्टले ३ हजार ३९५ मत पाएका छन्। यससँगै जिल्ला ४१ का तीनवटै सिट डेमोक्रेटिक पार्टीले जितेको छ।

शाहले चुनावी अभियानमा जीवनयापनको बढ्दो खर्च नियन्त्रण, आर्थिक न्याय, सार्वजनिक शिक्षा, स्वास्थ्य सेवा, बाल हेरचाह र ज्येष्ठ नागरिकको सहयोगलाई प्राथमिकतामा राखेका थिए। कामकाजी परिवारलाई कर छुट, सार्वजनिक विद्यालयमा पर्याप्त लगानी तथा स्वास्थ्य सेवा र बाल हेरचाहलाई सर्वसुलभ बनाउने उनको प्रतिबद्धता थियो। नेपालदेखि अमेरिकासम्मको आफ्नो यात्रालाई अमेरिकी सपनाको उदाहरणका रूपमा प्रस्तुत गर्दै आएका शाह म्यानचेस्टरमा श्रीमतीसँग दुई सन्तान हुर्काइरहेका छन्।

न्युयोर्क राज्य संसदकी सदस्य सराहना श्रेष्ठले डिस्ट्रिक्ट १०३ बाट तेस्रो कार्यकालका लागि जित हासिल गरेकी छन्। उनले रिपब्लिकन उम्मेदवार स्यान्टोस लोपेजलाई फराकिलो मतान्तरले पराजित गरेकी हुन्। श्रेष्ठले ३८ हजार ६०६ मत अर्थात् ६९ प्रतिशत प्राप्त गर्दा लोपेजले १६ हजार ८२१ मत अर्थात् ३० प्रतिशत पाएका छन्।

सन् १९८१ मा काठमाडौंमा जन्मिएकी श्रेष्ठ न्युयोर्क राज्य संसदमा प्रतिनिधित्व गर्ने पहिलो नेपाली अमेरिकी हुन्। उनी अमेरिकाको कुनै पनि राज्य संसदमा निर्वाचित हुने पहिलो नेपाली अमेरिकी महिला पनि हुन्। सन् २०२२ मा पहिलोपटक निर्वाचित भएकी उनी २०२४ मा दोस्रो कार्यकालका लागि विजयी भएकी थिइन्। यसपटकको जितसँगै उनको तेस्रो कार्यकाल सन् २०२७ जनवरी १ बाट सुरु हुनेछ।

श्रेष्ठले लगातार तीन निर्वाचनमा आफ्नो मत प्रतिशत बढाउँदै लगेकी छन्। सन् २०२२ मा ६०.७ प्रतिशत, २०२४ मा ६४.१ प्रतिशत र यसपटक ६९ प्रतिशत मत प्राप्त गरेकी छन्। उनका प्रमुख राजनीतिक एजेन्डामा जलवायु संकट नियन्त्रण, सस्तो आवास, स्वास्थ्य सेवामा पहुँच, सार्वजनिक शिक्षा, श्रमिक अधिकार र आर्थिक न्याय रहेका छन्।

मेरिल्याण्ड राज्यको हाउस अफ डेलिगेट्समा डिस्ट्रिक्ट ८ बाट डा. ह्यारी भण्डारी पनि तेस्रोपटक निर्वाचित भएका छन्। बाल्टिमोर काउन्टीका ३६ निर्वाचन केन्द्रको अनौपचारिक नतिजाअनुसार भण्डारीले १९ हजार ५३० मत अर्थात् २२.३४ प्रतिशत प्राप्त गरेका छन्। उनका डेमोक्रेटिक सहकर्मी निक एलेनले १९ हजार ८६० र किम एल. रसले १९ हजार ३४८ मत पाएका छन्। तीन सदस्य निर्वाचित हुने यस क्षेत्रमा डेमोक्रेटिक उम्मेदवारहरूले तीनवटै सिट जितेका छन्।

भण्डारी सन् २०१८ मा पहिलोपटक मेरिल्याण्ड राज्य संसदमा निर्वाचित भएका थिए। त्यसपछि २०२२ र २०२६ मा पनि जित हासिल गर्दै उनले तेस्रो कार्यकाल सुनिश्चित गरेका छन्। उनी अमेरिकाको राज्य संसदमा निर्वाचित हुने पहिलो नेपाली अमेरिकी हुन्। यसपटकको निर्वाचनमा उनले प्राप्त गरेको मत प्रतिशत सन् २०१८ को १७.७ प्रतिशत र २०२२ को २१.६ प्रतिशतभन्दा बढी हो।

पर्वतको किसान परिवारमा जन्मिएका भण्डारी सन् २००५ मा अमेरिका पुगेका थिए। नेपालमा लामो समय शिक्षण पेसामा बिताएका उनले अमेरिकामा सुरुवाती दिनमा ग्यास स्टेसनमा काम गरेपछि शिक्षण पेसामा प्रवेश गरेका थिए। सन् २०११ मा अमेरिकी नागरिकता प्राप्त गरेपछि उनी राजनीतिमा सक्रिय भएका थिए। शिक्षा, स्वास्थ्य, आवास, जनसुरक्षा, अध्यागमन र भाषिक पहुँचका विषयलाई उनले आफ्नो राजनीतिक प्राथमिकतामा राख्दै आएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*