धितोपत्र बोर्डमा हकप्रद शेयरको अन्तिम स्वीकृति कुर्दै २ बीमासहित ८ कम्पनी

१९ कार्तिक २०८३, बिहीबार ०९:४०

काठमाडौं । धितोपत्र बोर्ड नेपालबाट हकप्रद शेयर निष्कासनको अन्तिम स्वीकृति पाउने प्रतीक्षामा ८ कम्पनी रहेका छन् । दुई बीमा कम्पनीसहित जलविद्युत्, लगानी तथा पूर्वाधार क्षेत्रका ८ कम्पनीले हकप्रद शेयर निष्कासनका लागि आवश्यक प्रक्रिया अघि बढाएका हुन् ।

बोर्डको पछिल्लो विवरणअनुसार यी कम्पनीले जवाफ तथा थप कागजात पठाइसकेका छन् र उनीहरूका आवेदन हाल समीक्षाको क्रममा रहेका छन् ।

यी ८ कम्पनीले कुल ९ अर्ब ७८ करोड १६ लाख रुपैयाँभन्दा बढीको हकप्रद शेयर निष्कासन गर्न लागेका छन् । बोर्डको ‘Replied and Under Review’ सूचीमा रहेका कम्पनीमध्ये सबैभन्दा ठूलो रकमको हकप्रद शेयर साहस ऊर्जाले निष्कासन गर्न लागेको छ । कम्पनीले ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ बराबरको ४ करोड ५७ लाख ३८ हजार कित्ता शेयर जारी गर्ने प्रस्ताव गरेको छ ।

कुन कम्पनीले कति रकमको हकप्रद ल्याउँदैछन् ?

१. प्रभु इन्स्योरेन्स लिमिटेड: गैरजीवन बीमा क्षेत्रको प्रभु इन्स्योरेन्सले ७९ करोड ९४ लाख ४९ हजार ४०० रुपैयाँ बराबरको ७९ लाख ९४ हजार ४९४ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको छ । कम्पनीको प्रस्तावित अनुपात १ः०.०४३२३८२७८ रहेको छ । यसको बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल रहेको छ ।

२. बराही हाइड्रोपावर पब्लिक लिमिटेड: बराही हाइड्रोपावरले २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको छ । कम्पनीले १ः१ अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव गरेको छ । यसको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।

३. सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेड: बीमा क्षेत्रको अर्को कम्पनी सानिमा जीआईसी इन्स्योरेन्सले ३६ करोड ५५ लाख रुपैयाँ बराबरको ३६ लाख ५५ हजार कित्ता हकप्रद शेयर ल्याउने तयारी गरेको छ । कम्पनीले १० कित्ता बराबर १.७ कित्ता हकप्रद जारी गर्ने प्रस्ताव गरेको छ । यसको बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल रहेको छ ।

४. मन्दाकिनी हाइड्रोपावर लिमिटेड: मन्दाकिनी हाइड्रोपावरले ४२ करोड ९४ लाख २४ हजार २५० रुपैयाँ बराबरको ४२ लाख ९४ हजार २४२.५० कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको छ । कम्पनीले १ः०.६६४ अनुपातमा शेयर जारी गर्ने प्रस्ताव गरेको छ । यसको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

५. माईखोला हाइड्रोपावर लिमिटेड: माईखोला हाइड्रोपावरले ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ बराबरको ३९ लाख २१ हजार ५६८ कित्ता हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ । कम्पनीले १ः१ अनुपातमा हकप्रद जारी गर्न लागेको हो । यसको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

६. सगरमाथा जलविद्युत् कम्पनी लिमिटेड: सगरमाथा जलविद्युत्ले १ अर्ब १७ करोड ३२ लाख रुपैयाँ बराबरको १ करोड १७ लाख ३२ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ । कम्पनीले १ः१ अनुपातमा हकप्रद जारी गर्न लागेको हो । यसको बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।

७. एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड: एनआरएन इन्फ्रास्ट्रक्चरले १ अर्ब ७९ करोड ८१ लाख २१ हजार १९९ रुपैयाँ बराबरको १ करोड ७९ लाख ८१ हजार २११.९९ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको छ । कम्पनीले १ः१ अनुपातमा शेयर जारी गर्ने प्रस्ताव गरेको छ । यसको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

८. साहस ऊर्जा लिमिटेड: सूचीमा सबैभन्दा ठूलो रकमको हकप्रद शेयर निष्कासन गर्न लागेको साहस ऊर्जाले ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ बराबरको ४ करोड ५७ लाख ३८ हजार कित्ता शेयर जारी गर्ने प्रस्ताव गरेको छ । कम्पनीले १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो । यसको बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल रहेको छ ।

बोर्डको सूचीमा जवाफ प्राप्त भई पुनः समीक्षा भइरहेको अवस्थामा रहेका यी कम्पनीका प्रस्ताव अब नियामकीय परीक्षणको प्रक्रियामा छन् । आवश्यक कागजात तथा विवरणहरू मापदण्डअनुसार मिलेमा अन्तिम स्वीकृति प्राप्त गर्ने बाटो खुल्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*