बीमा प्राधिकरणका अध्यक्ष राजन विक्रम थापाले गरे पदभार ग्रहण

१९ कार्तिक २०८३, बिहीबार १२:०९

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त राजन विक्रम थापाले आज पदभार ग्रहण गरेका छन् । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट उनलाई प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

अर्थ मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले थापालाई पद तथा गोपनीयताको शपथ गराएका थिए । शपथपछि अर्थमन्त्री वाग्लेले बीमा क्षेत्रको विकास र विस्तारका लागि निडर तथा निर्धक्क भएर काम गर्न नवनियुक्त अध्यक्षलाई निर्देशन दिएका थिए ।

नेपाल राष्ट्र बैंकका १३औँ नम्बरका कार्यकारी निर्देशक रहेका थापा करिब तीन दशकदेखि बैंकिङ क्षेत्रमा कार्यरत छन् । उनी पछिल्लो समय राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागमा कार्यरत थिए । आगामी चैतमा ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउन लागेका थापा अब बीमा क्षेत्रको नियामक निकायको नेतृत्वमा पुगेका हुन् ।

थापासँग वित्तीय संस्था तथा बैंक सुपरिवेक्षण, नियमन, जोखिम व्यवस्थापन र संस्थागत सुशासनमा लामो अनुभव छ । उनले राष्ट्रिय जीवन बीमा कम्पनीको सञ्चालक तथा लगानी समितिको संयोजकका रूपमा पनि काम गरिसकेका छन् । त्यसैगरी निक्षेप तथा कर्जा सुरक्षण कोषको सञ्चालक समितिमा सदस्य तथा लगानी समितिको संयोजकको जिम्मेवारीसमेत सम्हालेका थिए ।

व्यवस्थापन, अर्थशास्त्र र कानुनमा उच्च शिक्षा हासिल गरेका थापाले व्यवस्थापन विषयमा एमफिल र भारतको सिंघानिया विश्वविद्यालयबाट पीएचडी गरेका छन् । बैंकिङ तथा व्यवस्थापनसम्बन्धी पुस्तक लेखन र अनुसन्धानमा समेत सक्रिय उनले सयभन्दा बढी अनुसन्धानमूलक लेख प्रकाशित पनि गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*